२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बोक्सी आरोपमा कुटपिटपछि घाइते बनाएकी सुन्दरकलाको गर्भ तुहियो, दुईजना पक्राउ

२२ कार्तिक, महाेत्तरी । बोक्सी आरोपमा कुटपिटबाट घाइते बनाएकी गौशाला नगरपालिका वडा नम्बर ११ लक्ष्मीनियाकी २५ वर्षीया सुन्दरकला देवीको चार महिनाको गर्भ तुहिएको छ । १४ कात्तिकमा छिमेकीले बोक्सी आरोपमा सुन्दरकलासँगै उनकी सासू इतरिया देवी र परिवारका अन्य सदस्यलाई कुटपिट गरेका थिए । कुटपिट आरोप लागेका चारमध्ये दुईजना पक्राउ परिसकेका छन् ।

कुटपिटबाट गर्भमा समेत चोटपटक लागेकोमा पाठेघरबाट पानी बग्न थालेपछि जनकपुर अस्पतालमा जाँच गराउँदा उनको गर्भ तुहिएको पाइएको हो । त्यसअघि उनको गौशालास्थित प्राथमिक उपचार केन्द्रमा उपचार भएको थियो । रक्तश्राव नरोकिएपछि उनलाई थप उपचारका लागि १९ कात्तिकमा जनकपुर लगिएकामा चिकित्सकले गर्भ तुहिएको बताएको उनका श्रीमान् देवेन्द्र महराले बताए ।

उनले भने, ‘गौशालामा श्रीमतीको अल्ट्रासाउन्ड जाँच गराउँदा चिकित्सकले औषधि दिएका थिए । तर, रक्तश्राव नरोकिएपछि जनकपुर लगेका थियौँ, गर्भको बच्चा बचाउन सकिएन । अहिले श्रीमतीलाई घर लिएर आएको छु ।’ सात वर्षअघि विवाह गरेका देवेन्द्रका चार र दुई वर्षका दुई छोरी छन् ।

महराको परिवारमाथि २७ असोजमा बोक्सी आरोपमा कुटपिट भएको थियो । दसैँको बिदाका कारण १७ कात्तिकमा छलफल डाकिएकोमा त्यसअघि नै १४ कात्तिकमा सन्तोष यादव, विनोद पासमान, चन्द्रशेखर यादव र केवल महतोलगायतले कुटपिट गरेका थिए । सन्तोष र विनोदलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको र फरार दुईजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज मनोज यादवले बताए ।

 

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस