२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खोटाङको लालुपाते सहकारी प्रकरण : भागेकी पोखराकी पौडेल पक्राउ

खोटाङ । लालुपाते सहकारीको बचत अपचलन प्रकरणमा पोखराकी जसोदा पौडेल (क्षेत्री) पक्राउ परेकी छन् । उनलाई बुधबार चितवनबाट पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएको प्रहरीले पुष्टि गरेको छ । पौडेलले ७० लाख रुपैयाँभन्दा बढी रकम लगेको देखिएको छ । उनी पोखराबाट भागेर चितवन पुगेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

यो प्रकरणमा पौडेलसहित नौ जना पक्राउ परेका छन् । सहकारीका सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरी सोमबार सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको कार्कीले बताए । उनीहरु बाहेक सहकारीका अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी, सुनिलकी श्रीमती रविना श्रेष्ठ जोशीलाई असोज–१३ गते र प्रबन्धक रुकु जोशीलाई भने असोज–१७ गते काठमाडौंबाट पक्राउ गरी दिक्तेल ल्याइएको कार्कीले बताए । उनीहरु सबैलाई थप पाँच दिनको म्याद थपिएको छ ।

सहकारीका अध्यक्ष अनिल जोशी भने कोरोनाले २०७८ वैशाख १५ गते पोखरामा निधन भएपछि वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प भएको थियो । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटाला गरेको भन्दै बचतकर्ताहरुले २०७९ फागुन २ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका सहित आठ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस