२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओमानलाई हराउन नेपालले १४६ रन बनाउनुपर्ने लक्ष्य

Nepal has to score 146 runs to beat Oman

काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगिताको बिहीबारको खेलमा नेपालले ओमानबाट जितका लागि एक सय ४६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको हो ।

ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ३२ रनको योगदान गरे । तल्लो क्रमका ब्याट्सम्यान नसिम खुसीले २५ रन जोडे । ओपनर प्रतिक अथावलेले पनि २४ रन बनाए । आयान खान १८ रन बनाउँदै पेभेलियन फर्किए ।

ओमानका तल्लो क्रमका ब्याट्सम्यान सकिल अहमदले अविजित २२ रन बनाए । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । कालिमुल्लाहले पाँच रनमा पेभेलियन फर्किए । उनलाई करण केसीले सोमपाल कामीद्वारा क्याच गराएका थिए । ओमानले अतिरिक्त रुपमा सात रन पाएको थियो ।

नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले दुई—दुई विकेट हात पारे । गुल्सन झा र अविनाष बोहराले पनि एक—एक विकेट लिए । सन्दीपले चार ओभरमा ३० रन खर्चिए भने सोमपालले चार ओभरमा १६ रन दिए । करणले चार ओभरमा ४३ रन खर्चिए ।

ओमानको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका थिए । उनले ओमानका ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आठ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले कश्यपलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । कश्यपले पाँच बलको सामना गरी दुई चौका हिर्काएका थिए । पहिलो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाउँदा ओमानले आठ रन बनाएको थियो ।

ओमानको दोस्रो विकेट सामपाल कामीले लिएका थिए । उनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिब इलियसलाई दुई रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । इलियस आउट हुँदा ओमानले ३।१ ओभरमा २१ रन बनाएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस