२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलमा मृत्यु भएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

The body of the student who died in Israel was brought to Kathmandu

काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ ।

पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् ।

पहिलो चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव दिउँसो आइपुग्ने छ ।

अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

युद्ध तत्काल रोकिने स्थिति नदेखिएपछि सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको थियो । पहिलोपटक नेपाल एयरलाइन्सको हवाई जहाज पठाएर २५४ जना नेपालीहरुलाई स्वदेश ल्याइएको थियो भने १८ जना नेपालीहरु भारतको उद्धार उडान मार्फत् आएका थिए ।

नेपाल फर्किन चाहनेहरुका लागि इजरायलको तेलअविवस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन गर्दै आएको छ । अनलाइनमा थप १४० जना नेपालीहरुले स्वदेश फर्किने इच्छासहित आफ्नो विवरण इन्ट्री गराएको र तीमध्ये सात जना मात्रै तत्कालै नेपाल फर्किन इच्छुक रहेको दूतावासले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस