२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप यात्रामा नेपाल : भोलिदेखि घरेलु मैदानमा यी टीमसँग खेल्नेछ, सन्दीप लामिछाने नहुँदा को आउँछ ?

Nepali Cricket team

३० असोज, काठमाडौं । नेपालले भोलि कात्तिक १ गतेदेखि घरेलु मैदानमा हङकङ र यूएई सम्मिलित टी–२० आई सिरिज खेल्दैछ । दशैंको रमझमको बेलामा सुरु हुन लागेको त्रिकोणात्मक सिरजको लक्ष्य नेपाललाई आईसीसी टी–२० विश्वकपमा छनोट गराउनु हो ।

डबल राउण्ड रोबिनमा हुने र शीर्ष २ टिमले फाइनल खेल्ने त्रिकोणात्मक प्रतियोगिता नेपालले आयोजना गर्नुको मुख्य लक्ष्य विश्वकप छनोट नै हो । यो प्रतियोगितामा सहभागी नेपालसहितका तीनै टिमको धेय छनोट खेलमा राम्रो नतिजा निकाल्नु हो । १० गते फाइनल हुने क्रिकोणत्मक शृंखला सकिएको ३ दिनपछि कात्तिक १३ गतेबाट काठमाडौंमा नै टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सुरु हुने छ ।

छनोट खेलअघि यसरी तयारी खेल्न पाउँदा दुवै टिमको बलियो र कमजोर पक्ष थाहा पाउने राम्रो मौका हुने कप्तान रोहितकुमार पौडेलले बताए । ‘यूएई निकै राम्रो टिम हो,’ उनले भने, ‘यो त्रिकोणात्मक सिरिजमा वेष्ट क्रिकेट खेलेर हामी सोही मोमेन्टमलाई निरन्तरता दिन चाहन्छौं । उनीहरुको कमजोर र बलियो पक्ष थाहा पाउने छौं ।’

‘तीनवटा राम्रो टिमहरुबीच सिरिज हुँदैछ,’ पूर्वकप्तान समेत रहेका नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काले भने, ‘यो सिरजले विश्वकप छनोटको खेललाई सहयोग गर्ने भएकाले हामीले छोटो समयको तयारीमा यो खेल खेल्दैछौं ।’ ८ टिम सहभागी विश्वकप छनोटमा हङकङ र यूएई पनि छन् । तर नेपालले उनीहरुसँग समूह चरणमा खेल्नु पर्ने छैन । नेपाल रहेको समूह एमा ओमान, मलेसिया र सिंगापुर छन् । हङकङ, यूएईसहित बहराइन र कुवेत समूह बीमा छन् । समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् र फाइनल खेल्ने २ टिमले टी–२० आई विश्वकपमा स्थान बनाउने छन् ।

विश्वकप छनोटका लागि नेपालले भारतमा तयारी गरेको थियो । नागपुरमा हाइपर्फमेन्स क्याम्प गरेर र त्यहाँ टी–२० फर्म्याटका केही अभ्यास खेलेर फर्किएका पौडेलले आफूहरुको तयारी राम्रो रहेको बताए । इण्डियन प्रिमियर लिग आईपीएल टिम राजस्थान रोयल्सको एकेडेमीमा नेपालले १० दिनको प्रशिक्षण क्याम्प गरेको थियो ।

लोकेश र सूर्यको पुनरागमन, सागर विवेक र प्रतिसलाई मौका

त्रिकोणत्मक शृंखला घरेलु मैदानमै हुने भएकाले प्रशिक्षक मोन्टीले टिममा १८ जना खेलाडीलाई राखेका छन् । उनले एकदिवसीय र टी–२० दुई फरक फर्म्याटका लागि फरक खेलाडीको समूह बनाउने योजनाका साथ १८ जना खेलाडीलाई टिममा राखेको क्यानका सचिव पारस खड्काले बताए ।

‘हामीले घरेलु मैदान त्यहिमाथि तयारी सिरिज खेल्ने भएकाले १८ जनाको ठूलो समूह राखेका हौं,’ उनले भने, ‘यसमा विशेषत प्रशिक्षक सरले खेलाडीमा पनि एकदिवसीय र टी–२० को खेलाडी छुट्याउने योजनाका साथ यसो गरेका हौं ।’ खेलाडीको क्षमता र योग्यता पहिचान गर्ने आफूहरुको लक्ष्य रहेको कप्तान रोहितले बताए ।

नेपालमा घरेलु क्रिकेट र उमेर समूहमा राम्रो छवी बनाएका युवा क्रिकेटरद्वय लोकेश बम र सूर्य तामाङले टिममा पुनरागमन गरेका छन् । २०७६ सालमा यू–१९ बाट यात्रा सुरु गरेका लोकेश मिडल अर्डरका लागि राम्रो विकल्प हुन् । स्पिनमा सूर्य तामाङले टी–२० फ्रेन्चाइज क्रिकेटमा राम्रो प्रदर्शन गरेका थिए । पहिलो सिजन नेपाल प्रिमियर लिगमा सूर्य इमर्जिङ खेलाडी हुँदै टिममा परेका थिए ।

उनी पनि यू–१९ मा उत्कृष्ट प्रदर्शन गरेका बाया हाते स्पिनर हुन् । उनी विशेषतः टी–२० क्रिकेटमा ललित राजवंशीको राम्रो विकल्प हुन सक्छन् । ललित भखरै चोटबाट निको भएर टिममा परेका छन् । त्रिकोणात्मक सिरिजमा लेगस्पिनर सन्दीप लामिछाने नाम फिर्ता लिँदा श्याम (मौसम) ढकालले टिममा मौका बनाउन सक्नेछन् ।

टिममा परेकामा सागर ढकालका लागि टिममा निरन्तरता पाउन यो ठूलो मौका हुनेछ । बायाँ हाते अर्थोडक्स सागरले एसियन गेम्समा ललितको स्थानमा प्रतिस्थापन गरे पनि खेल्ने मौका भने पाएनन् । टिममा रहेर पनि प्लेइङ सेटमा नपरेका प्रतिश जिसी र विवेक यादवले पनि यो प्रतियोगितामा मौका बनाउन सक्छन् । एक वर्षभन्दा लामो समयदेखि टिममा रहे पनि प्रतिसले खेलमा भने निकै कम मौका पाएका छन् । एकदिवसीयमा पीएनजविरुद्धको खेलमा २०२३ फ्रेब्रअरीमा डेब्यु गरेका उनले ३ एकदिवसीयमा २ विकेट लिएका छन् ।

 

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस