२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोसीमा मुख्यमन्त्री नियुक्तिका लागि एमाले र कांग्रेसका बहुमत सदस्य सशरीर उपस्थित

विराटनगर । कोसी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले आज सांसदको हस्ताक्षरको सनाखत गराएको छ । मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गर्ने बहानामा मुख्यमन्त्री नियुक्ति शुक्रबार हुन सकेको थिएन । सनाखतपछि मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार बिहान ८ बजेदेखि सनाखस भएको छ । सनाखतको समय दिउँसो २ बजेसम्मलाई छुट्याइएको छ।

श्रेष्ठले मुख्यमन्त्रीको दाबीकर्ताका समर्थक सांसदलाई प्रदेशसभाको परिचयपत्रसहित उपस्थित हुन आह्वान गरिएको बताए। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा शुक्रबार साँझ ५ बजे सकिएको थियो। समय घर्किदा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि नबढाएका खापुङले समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखतको अड्को थापेका हुन्।

प्रदेशको मुख्यमन्त्रीमा एमालेको सार्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार नै दाबी पेस गरेका थिए। कार्कीले संवैधानिक व्यवस्था अनुसार आधिकारिक हिसाबले मुख्यमन्त्री दाबी गरेको देखिन्छ। तर, सनाखतको नाममा मुख्यमन्त्री नियुक्त नगरेपछि गठबन्धनबाट परिचालित भएको आरोपको भारी प्रदेश प्रमुखले बोक्दैछन्।

कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा बहुमत पुर्‍याउँदै कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए। आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गरेका हुन्। कार्कीसहित उनलाई साथ दिएका सांसदको हस्ताक्षर दुरुपयोग गरेको आरोप खेपिरहेका आङ्बोको दाबी आधिकारिक हुन नसक्ने बताइन्छ। त्यसले मुख्यमन्त्रीमा कार्कीको दाबी बलियो बनाएको छ। हस्ताक्षर प्रमाणितपनि कार्कीकै पक्षमा बहुमत पुगेको छ ।
कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्दै उनलाई समर्थन गरेका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दबाबसमेत दिएका थिए। दबाब दिन कार्की समर्थक सांसदहरु आफूहरुको नाम र हस्ताक्षरसहित सशरीर पुगेका थिए।

संविधान र सर्वोच्चको फैसला बमोजिम संवैधानिक प्रक्रिया पूरा गरेर दाबी गरिएका कारण कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने दबाब पनि बढेको छ। तर, कार्कीलाई दाबी फिर्ता गर्न लगाउन गठबन्धनका शीर्ष नेतृत्व सक्रिय छ। त्यसकै इशारामा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति एक दिनपछि धकेलेको स्रोतले बतायो। प्रदेशमा ६ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने नयाँ सरकार गठनका विषयलाई लिएर तटस्थ बसेको छ। कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। त्यो कार्कीले पूरा गरेका छन् ।

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस