२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले सुदूरपश्चिम अध्यक्षमा कृष्णप्रसाद जैसीसहित सबै पदाधिकारी सर्वसम्मत निर्वाचित

धनगढी । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षसहित पदाधिकारीहरू सर्वसम्मत चुनिएका छन्। अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी छानिएका छन्। उनी अछामका पूर्वजिविस सभापति हुन्। अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन्। सहमतिका लागि बाधक नबन्ने भन्दै तीनै जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका थिए।

उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही यसअघि नै निर्विरोध भइसकेका थिए। उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन्। सचिवमा रणबहादुर चन्द निर्विरोध चुनिएका छन्। रतनराज रेग्मी र राजेशकुमार खातीले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्।

महिला उपसचिवमा भागिरथी विष्ट सर्वसम्मत भएकी छन्। कन्दकला राना र कलशा महराले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत बनिन्। खुलातर्फ उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका छन्। अशोककुमार चन्दले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्।

‘पदाधिकारी र अधिकांश जिल्लामा सर्वसम्मति भइसकेको छ। सुरूदेखि नै हामीले सहमतिको प्रयास गरेका थियौं। निर्वाचन कमिटीले घोषणा गर्न बाँकी रहेको छ,’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भने। बाजुरा, अछाम, डडेलधुरा, डोटी, बैतडी र दार्चुला जिल्ला पनि सर्वसम्मत भइसकेको उनले बताए।

यसअघि उपत्यका विशेष प्रदेशमा पनि अध्यक्षमा प्रेम पराजुलीसहित सिंगो कमिटी नै सर्वसम्मत भएको थियो। लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकीको नेतृत्व चुनावबाट छानिएको थियो। एमालेको मधेस प्रदेश अधिवेशन अहिले जारी छ। त्यहाँ नेतृत्व चयनको प्रक्रिया बिहीबारबाट सुरू भएको छ।

 

 

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस