२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलबाट नेपाली ल्याउन विमान पठाइँदै

काठमाडौं । सरकारले इजरायलमा जोखिममा रहेका नेपालीलाई उद्धारका लागि प्रक्रिया सुरु भइसकेको जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले युद्धका कारण जोखिममा परेर नेपाल फर्कन चाहनेहरूको सूची तयार भइसकेपछि विमान इजरायल पठाउने जानकारी दिए । मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको आकस्मिक बैठकले इजरायलमा रहेका नेपालीको सुरक्षा, उद्धार र शव ल्याउने प्रक्रिया तुरुन्त अघि बढाउने निर्णय गरेको थियो ।

‘जोखिममा परेका नेपालीहरूको अनलाइनमार्फत विवरण संकलनको काम भइरहेको छ । नेपाल आउन चाहनेहरूको संख्या यकिन भइसकेपछि जतिसक्यो छिटो जहाज पठाइनेछ,’ उनले भने, ‘त्योभन्दा पहिले जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानतिर ल्याउने कामलाई तीव्रता दिइएको छ ।’ मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमाल एयरलाइन्स विमान चार्टर्ड गर्ने निर्णय गरिसकेको छ । परराष्ट्रले काठमाडौंस्थित इजरायली राजदूतावासमार्फत विमान चार्टर्डका लागि संवाद सुरु गरेको छ । ‘इजरायलमा आपत्कालीन उद्धारका लागि विमान पठाउने प्रक्रिया मिलाउन त्यहाँको सरकारसँग कुराकानी भइरहेको छ’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले भनिन्, ‘जहाज पठाउने प्रक्रिया पूरा हुनासाथ उद्धारका लागि जहाज पठाइनेछ ।’ उनले इजरायलमा मृत्यु भएका १० नेपालीको शव ल्याउनेबारे आवश्यक प्रक्रियासमेत अघि बढिसकेको जानकारी दिइन् ।

‘शव ल्याउने प्रक्रिया तीव्र गतिमा भइरहेको छ । शव ल्याएर आफन्तलाई हस्तान्तरण गर्ने सबै तालिका बनाउँदै छौं’ उनले भनिन्, ‘परराष्ट्रले इजरायलमा रहेको दूतावाससँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको छ ।’ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने सबैलाई सरकारले खर्च बेहोर्नेछ । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउनेछ । अनलाइन फाराम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने मन्त्रिपरिषद्को निर्णयमा छ ।

 

 

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस