२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतविरुद्ध नेपालको शानदार प्रस्तुती, मात्र २३ रनले पराजित

काठमाडौं । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध नेपालले शानदार प्रस्तुती दिएको छ । विश्व नम्बर वान टोली भारतसँग नेपाल मात्र २३ रनले पराजित भयो । नेपालका ओपनर पहिलेजस्तो उत्कृष्ट बन्न नसकेपनि मध्यमा आएकाले राम्रो खेलेका थिए । दीपेन्द्र सिंह ऐरी र सन्दीप जोराको स्कोर देशका लागि उत्कृष्ट बन्यो ।

मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्दै २३ रनले पराजित भयो । यो नेपाल र भारतबीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो। यसअघि नेपालले एसिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो।

मंगलबार पिङफेङमा नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन र आसिफ शेख १० रनमा आउट भए। कुशल मल्लले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा २९ रन जोडे। रोहित पौडेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्का हिर्काउँदै ३५ रन बनाए। ऐरीले १४ ओभरमा शिवम् दुवेलाई लगातार ३ छक्का प्रहार गरेका थिए। सोमपाल कामी ७, गुल्सन झा ६ रन र सन्दीप लामिछाने ५ रनमा आउट भए। करण केसीले १३ बलमा नटआउट १८ रन जोड्दा १ चौका र २ छक्का प्रहार गरे।

खेलमा नेपालले भारतविरूद्ध १४ छक्का र ११ चौका हिर्काएको थियो। बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले ३-३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिन सफल भए।  टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो।

नेपाल र भारतबीचको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो। भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। शतक प्रहार गरे लगत्तै जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए। यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे। भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे। भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको थियो।

यस्तै तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे। बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस