२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब एक हप्ता मौसम बिग्रिने चेतवानीपछि यसो भन्छन् मौसम विद्

weather forecast nepal today

१३ असोज, काठमाडौं । अब एक हप्ता मौसम बिग्रिने चेतवानी जारी भएको छ । नेपालबाट मनसुन बहिर्गमनको औसत मिति अक्टुर २ तारिख भए पनि यस वर्ष त्योभन्दा पनि ढिलो मनुसन बाहिरिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन–चार दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको अनुमान छ । महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गर्दै यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । २४ घण्टाको अवधिमा ५० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।

मौसमविद गोविन्द झाका अनुसार हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर(पश्चिम दिशातर्फ सर्ने सम्भावना छ । त्यही प्रणालीका कारण आगामी तीन–चार दिनसम्म देशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हो ।

वर्षा कारण पहाडी भूभागमा पहिरो जानसक्ने जोखिम छ । यसैगरी ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, सडक र हवाई यातायात समेत प्रभावित हुनसक्ने सम्भावना छ । बाली भित्राउने समय पनि भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सरदर मिति अनुसार नेपालबाट मनसुन बाहिरिन अब दुई दिनमात्र बाँकी छ । कहिलेकाहिँ सरदर मितिभन्दा दुई–चार दिन ढिलो–चाँडो मनसुन बाहिरिनु र भित्रिनुलाई सामान्य रुपमा लिने गरिन्छ ।

पूर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपालबाट बाहिरिन सुरु गर्छ । मौसमविदहरुका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ अर्थात् पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ । सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ । जाडोको वायु पश्चिमबाट चल्छ । काठमाडौं उपत्यकामा बिहानपख जाडो महसुस हुँदै गएको छ । यद्यपि जाडोको वायुका साथै स्थानीय वायुको प्रभाव, पश्चिमी वायुको प्रभाव, वायुमण्डलको अवस्था सबै हेरेर मनसुन बहिर्गमनको घोषणा गरिन्छ । तर केही दिनसम्म कमजोर भएको मनसुन फेरि सक्रिय हुन थालेकाले मनसुन बाहिरिन ढिलाइ हुने मौसमविद झाले बताए ।

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस