२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसियाडको छैटौं दिन : ब्याडमिन्टनमा पुरुष टिम विजयी, पबजीमा दोस्रो चरणमा पुग्यो

११ असोज, हान्झाउ । १९औं एसियाली खेलकुद एसियाडको छैटौं दिन बिहीबार ब्याडमिन्टनमा पुरुष टिम इभेन्टमा नेपाल विजयी भएको छ । पबजीको समूह चरणमा दोस्रो हुँदै नेपाल दोस्रो चरणमा पुगेको छ । महिला फुटबलमा बंगलादेशसँग बराबरी खेल्यो ।

ब्याडमिन्टनको पुरुष टिमले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २–० ले हराउँदै २–० को अग्रता लिएको थियो । प्रिन्स २१–८, २१–१४ तथा सुनिल २१–११, २१–७ ले विजयी भए ।

तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१–२३, २४–२२, १७–२१ ले पराजित भए । तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१–८, २१–९ ले विजयी भए ।

इस्पोर्ट्समा पबजी टिम दोस्रो चरणमा

१९औं एसियाड अन्तर्गत पदकको आशा गरिएको इस्पोर्ट्स अन्तर्गत पिस एलिट एसियन गेम्स भर्सन (पबजी) मा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा बिहीबार भएको समूह सी को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए । यस समूहमा दक्षिण कोरिया शीर्ष स्थानमा हरँदा नेपाल दोस्रो भएको थियो । कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ निकाल्दा नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड टाइमिङ थियो । प्रारम्भिक चरणमा चार समूहमा दोस्रो भएका मध्ये बेस्ट टाइमिङका आधारमा नेपाल दोस्रो चरणमा छनोट भएको हो । अब दोस्रो चरणमा नेपालले शुक्रबार समूह चरणमा प्रतिस्पर्धा गर्नेछ र त्यहाँबाट उत्कृष्ट ८ टिम अर्को चरणमा पुग्नेछन् । प्रारम्भिक चरणमा समूह ए बाट हङकङ, समूह बी बाट चाइनिज ताइपेई, समूह सी बाट दक्षिण कोरिया र नेपाल तथा समूह डी बाट इन्डोनेसिया दोस्रो चरणमा प्रवेश गरेका हुन् । वरीयताका आधारमा आयोजक चीनसहित थाइल्याण्ड प्यालेस्टाइन र अफगानिस्तान यसअघि नै अन्तिम १६ मा पुगिसकेका छन् । अब अन्तिम १६ मा रहेका टिमलाई चार समूहमा विभाजन गरेर खेलाइनेछ । जहाँ नेपाल रहेको समूह डी मा कजाखस्तान, इन्डोनेसिया र साउदी अरेबिया छन् ।

महिला फुटबलमा बराबर

१९ औं एसियाडको महिला फुटबल खेलमा नेपालले बिहीबार बंगलादेशसँग १–१ को बराबरी खेलेको छ । रेखा पौडेलले खेलको अन्त्यतिर गोल गरेपछि नेपालले बंगलादेशसँग बराबरी गरेको हो । समूह डी अन्तर्गत वेन्झाउमा भएको खेलमा बंगलादेशले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । सबिना खातुनले ४४ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिईन् । पहिलो हाफमा पछि परेको नेपालका लागि रेखाले८२ औं मिनेटमा बराबरी गोल गरिन् । नेपाल र बंगलादेशले यसअघि नै दुई खेलमा हार बेहोरेकोले यो खेल प्रतिष्ठाको लागि मात्र थियो । दुवै टिम यसअघि जापान र भियतनामसँग पराजित भइसकेका छन् । पहिलो खेलमा भियतनामविरुद्ध २–० पराजित भएको नेपाल दोस्रो खेलमा पूर्व विश्व विजेता जापानविरुद्ध ८–० ले पराजित भएको थियो । पहिलो पटक एसियाडमा सहभागि भएको नेपाली महिला फुटबल टोलीले एक बराबरी र दुई हारपछि प्रतियोगिता सकाएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस