२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोरु काटेर सामूहिक भोज खाएको आरोपमा थप तीनजना पक्राउ, घरघरमा प्रहरी पुगेपछि गाउँ नै आतङ्कित

खोटाङ, ९ असोज । गोरु काटेर सामुहिक भोज खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले चार जना स्थानीयलाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा सोही स्थानका २१ वर्षीय डिकमान तामाङ, ४० वर्षीय तेजबहादुर तामाङ र ३५ वर्षीय गोपाल तामाङ तथा रावाबेँसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।

बादल गुरुङ लगायतका स्थानीयले गोरु काटेर सामूहिक भोज खाएको भन्ने सूचनाको आधारमा अनुसन्धानका लागि गुरुङसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले जानकारी दिए । “प्रहरी चौकी जालपाबाट खटिएर गएका टोलीले नियन्त्रणमा लिएका गुरुङसहित चारै जनालाई दिक्तेलस्थित प्रहरी हिरासतमा राखेर अनुशन्धान सुरु गरिएको छ । भर्खरै नियन्त्रणमा लिइएकाले घटनाको बारेमा केही खुलेको छैन”, उनले भने, “अनुशन्धानमा गोरु काटेर सामुहिक भोज खाएको पुष्टि भएको खण्डमा कानून बमोजिम कारबाही हुन्छ । अहिले यसै भन्न सकिने अवस्था छैन ।”

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ता बताउने समूहले सोमबार साँस्कृतिक क्रान्ति भन्दै मसानेडाँडामा गोरु काटेर सामुहिक भोज खाएको भिडियो र तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको थियो । मुलबासी न्यूज नामक सामाजिक सञ्जाल फेसबुकमाबाट गोरु काटेर सामूहिक भोज खाएको भिडियो र तस्वीर सार्वजनिक भएपछि जिल्लामा अहिले पक्ष र बिपक्षमा बहस सुरु भएको छ ।

पहिचानको आन्दोलन चलिरहेको अवस्थामा प्रहरीले सोझासिधा व्यक्तिलाई बिना कारण पक्राउ गरेर स्थानीयलाई आतङ्कित बनाएको बादलका बुबा मोहन गुरुङले आरोप लगाएका छन् । “प्रहरीले गोरु काटेको ठाउँबाट होइन । घर–घरबाट मान्छे पक्राउ गर्न सुरु गरेको छ । यो गैह्र कानूनी कार्य हो । आइएलओ १६९ बिपरित फौजदारी संहिताबाट गोरु÷गाई काट्न नपाउने दफा हटाइयोस भन्ने जिकिर गर्दछु”, पक्राउ परेका छोरा बादलको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर उनले लेखेका छन्, “गाई राष्ट्रिय जनवार भनेर आइएलओ १६९ सँग बाझिने गरी बनाइएको संविधान संशोध गर्न सबैले पहल गर्न सचेत नागरिक समुदायमा अपिल गर्दछु । पक्राउ परेका बादल लगायत सबैलाई तत्काल रिहाइको माग गर्दछु । यदि प्रहरीले लाने भए गाउँ नै रित्तो बनाएर लानुपर्छ भन्ने पनि जिकिर गर्दछु । बादल लगायत दुई÷चार जना सोझासिधा स्थानीयलाई पक्राउ गरेर साँस्कृति अभियान नरोकिने चेतावनी पनि दिन चाहन्छु ।”

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ता बताउने समूहले यसअघि पनि झापा लगायत अन्य विभिन्न जिल्लामा गोरु काटेर सामूहिक भोज गरेको सोमबार सार्वजनिक गरिएको उक्त भिडियोमा बताइएको छ । उक्त समूहले साँस्कृतिक क्रान्तिको रुपमा गोरु काटेर खाने अभियान चलाउने भनेर यसअघि नै घोषणा गरेका थिए । गोरु÷गाई काटेर खाएको आरोपमा राज्यले धेरै मानिसलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि त्यसको प्रतिरोधमा गोरु काटेर सामूहिक भोज खाने अभियान चलाइएको उनीहरुले बताउँदै आएका छन् । गत महिना धरानमा साँस्कृतिक अभियान्ताहरुले गोरु काटेर सामूहिक भोज गरेका थिए ।

उता, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका खोटाङ इन्चार्ज टंकबहादुर मगरले उक्त घटनामा आफूहरुको संलग्नता नरहेको बताए । “जीवन मङ्गोल लगायतका साथीहरुले हाम्रो पार्टीको नाम लिएर विभिन्न गतिविधि गरिरहेका छन् । यसले हाम्रो पार्टी मङ्गोल नेसनल अर्गनाइजेसनको समेत बदनाम भएको छ”, उनले भने, “हामी लोकतन्त्रलाई मान्ने भनेर निर्वाचनमा समेत सहभागी भएका हौँ । साँस्कृतिक क्रान्ति गर्नुपर्छ भन्ने हाम्रो पार्टीको नीति छ । तर, क्रान्तिको नाममा गोरु नै काट्नुपर्छ भन्ने हाम्रो पार्टीको नीति होइन र छैन पनि । अहिले खोटाङमा भएको सामूहिक भोजको घटनामा हाम्रा कार्यकर्ताहरु कोही पनि सहभागी छैनन् ।”

समाचार स्रोतका अनुसार निर्वाचनताका लोकतन्त्र र संविधानसमेत नमान्ने भन्दै मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट बाहिरिएका समूहले साँस्कृतिक क्रान्तिको नाममा गोरु काटेर भोज खाने अभियान चलाएको बुझिएको छ । सो समूहले पूर्वी नेपालका विभिन्न ठाउँमा साँस्कृति क्रान्ति भन्दै अराजक गतिविधि गरिरहेको प्रहरीले जनाएको छ । डा. गोपाल गुरुङ नेतृत्वको मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी भने, वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सहभागी भएको थियो । गुरुङ नेतृत्वको पार्टीले खोटाङमा गत वर्ष (२०७९) सम्पन्न स्थानीय तह तथा सङ्घ र प्रदेशको निर्वाचनमा समेत उम्मेदवारी दिएको थियो ।

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस