२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लमजुङमा वडाध्यक्षले कुटे जिल्ला अस्पतालका डाक्टरलाई

पोखरा, असोज ८ । लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई रक्सीले मातेका वडाध्यक्षले कुटपिट गरेका छन्। बेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राति डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन्।

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालका डाक्टर सुदर्शन आचार्यले बताए। ‘बिरामीको प्रेसर लो थियो, ल्याब रिपोर्टले डेंगी भएको पुष्टी गरेको थियो,’ आचार्यले भने, ‘बिरामीलाई वार्डमा सार्न मन्जुरीनामा बनाउँदै गर्दा वडाध्यक्ष आएर अश्लील गालीगलौज गर्दै डाक्टरलाई कुटपिट गर्नुभयो।’

बिरामी भर्ना गरेर राख्दा देशभरका सबै अस्पतालले मन्जुरीनामा बनाउने कानुनी प्रक्रिया रहेको जानकारी गराउँदासमेत वडाध्यक्ष बस्नेतले नसुनेको आचार्यले बताए। अस्पतालको मन्जुरीनामामा हस्ताक्षर गर्न नदिएर बस्नेत आफैंले मन्जुरीनामा लेखेर हस्ताक्षर गरेको उनले बताए। अस्पताल पुगेर नर्ससँग अश्लील शब्द प्रयोग गर्दै होहल्ला गर्न थालेपछि बस्नेतलाई डाक्टरले तपाईं के गर्नुहुन्छ भनेर सोधेका थिए। जवाफमा बस्नेतले आफू ‘सभ्य नागरिक’ भएको भन्दै नर्सिङ कक्षमै डाक्टरलाई मोबाइलले झटारो हानेका थिए। उक्त मोबाइलले डाक्टरको छातीमा लागेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

अस्पतालका नर्स, बिरामी र तिनका कुरूवालाई समेत अश्लील गाली गलौज गर्दै होहल्ला गरेका वडाध्यक्ष बस्नेतले अस्पतालमा त्रास र आतंकको स्थिति सिर्जना गरेका थिए। अस्पतालको नर्सिङ कक्षभित्र बसेका डाक्टर, नर्स लगायतका टोलीलाई नर्सिङ कक्षको ढोका फोडेर पुन: आक्रमणमा उत्रिएका थिए। ‘नर्सिङ कक्षको ढोका फोडी भित्र प्रवेश गरेर मेरो टाउको र छातीमा लात्ती, मुक्कासमेत प्रहार गर्नुभयो,’ डाक्टर अधिकारीले भने, ‘नर्सिङ कक्षको कुर्ची उठाएर आक्रमण गर्न खोज्दा अस्पतालका स्टाफले रोक्नुभयो, त्यसपछि नर्सिङ कक्षको स्ट्याम्प प्याड लगेर त्यसैले झटारो हान्नुभयो।’

उक्त घटनाले अस्पतालका बिरामी र स्वास्थ्यकर्मीलाई मानसिक तनाव उत्पन्न भएको अस्पतालका डाक्टरहरूले बताएका छन्। अस्पतालमा असुरक्षित वातावरण बनाएको भन्दै तत्काल प्रमुख जिल्ला अधिकारीलाई घटना गराएपछि वडाध्यक्ष बस्नेत आइतबार राति नै अस्पतालबाट प्रहरीले पक्राउ गरिसकेको छ। अस्पतालबाट पक्राउ परेपछि वडाध्यक्ष बस्नेतले आफू मदिराले मातेको स्वीकार गरेका छन्।

अस्पतालका चिकित्सकको टोलीले सोमबार बिहान ३ बजे घटनाका विषयमा प्रहरीले लिखित उजुरी दिएका थिए। बिहान १० बजेतिर जाहेरी बुझाएको डाक्टर आचार्यले बताए। जाहेरीमा बस्नेतले स्वास्थ्यकर्मी तथा सावस्थ्य संस्थाको सुरक्षा ऐनविपरीत कसुर गरेको भन्दै कारबाही गर्न र स्वास्थ्यकर्मीको जिउधनको सुरक्षा दिन माग गरेका छन्। जाहेरीमा डाक्टर अधिकारी, नर्सहरू विष्णु गुरूङ, पूजा श्रेष्ठ, स्मृति चिलुवाल, प्यारामेडिक्स पार्वती श्रेष्ठ र देवी विक, ल्याब टेक्निसियन कुमारबाबु तिवारी, कार्यालय सहयोगीहरू भीमबहादुर गुरूङ र निर्मला थापाले हस्ताक्षर गरेका छन्।

अस्पतालका अनुसार वडाध्यक्ष बस्नेतले यसअघि पनि अस्पताल पुगेर तोडफोडका साथै धाकधम्की लगाउने र आक्रमण प्रयास गरेका थिए। अस्पतालका अध्यक्ष हरिजंग तामाङका अनुसार यसअघि पनि पटक पटक वडाध्यक्ष बस्नेतले अस्पताल पुगेर होहल्ला गर्ने र स्वास्थ्यकर्मीमाथि हातपात प्रयास गरेका थिए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेश आचार्यलाई यसअघि हातपात गर्न खोजेको भन्दै अध्यक्ष तामाङले डाक्टर र नर्सलाई पटक-पटक अश्लील गालीगलौज गर्ने गरेका बताए। डाक्टरलाई हातपात गरेपछि आइतबार राति पक्राउ परेका वडाध्यक्ष बस्नेत एमालेबाट निर्वाचित हुन्। पटक-पटक बेसीशहरमा गुण्डागर्दी र अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दासमेत एमालेकै संरक्षणमा उन्मुक्ति पाउँदै आएका थिए।

यता, लमजुङका प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले डाक्टर र बिरामी कुरूवाबीच ‘सामान्य झैझगडा’ भएको बताए। ‘अस्पतालको डाक्टरसाब र एक जना बिरामी कुरुवाका आफन्तबीच सामान्य झैझगडा भएको हो,’ डिएसपी घलेले भने, ‘बिरामीलाई मन्जुरीनामा दिँदा सामान्य हातपात गर्नुभएछ।’

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस