२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पकिस्तानमा आम निर्वाचन जनवरीको अन्तिममा

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले आउँदो जनवरी अन्तिम हप्तामा आम चुनाव गर्ने घोषणा गरेको छ । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले एक विज्ञप्ति जारी गर्दै बहुप्रतिक्षित निर्वाचन जनवरीको अन्तिम हप्तामा हुने जनाएको हो । तर मतदानको निश्चित मिति भने तोकिएको छैन ।

घोषणा भएको समयमा चुनाव भए करिब १२ करोड ७० लाख मतदाताले पाँच वर्षको कार्यकालका लागि नयाँ सरकार चयन गर्न मतदान गर्ने आयोगले बताएको छ । प्रधानमन्त्री अन्वारुल हक कक्कडको नेतृत्वमा अन्तरिम सरकारले ९ अगस्टमा राष्ट्रिय सभा भनेर चिनिने तल्लो सदन विघटन गरेपछि सरकार सञ्चालन गरिरहेको छ ।

राष्ट्रपति आरिफ अल्वीले निवर्तमान प्रधानमन्त्री शहबाज शरिफको सल्लाहमा राष्ट्रिय सभा भंग गरेका थिए । त्यसपछि संवैधानिक व्यवस्थाअनुसार ९० दिनभित्र राष्ट्रिय चुनावका लागि मतदानको बाटो खुला गरेका थिए । निवर्तमान सरकारले असारमा निर्वाचन नियमावलीमा संशोधन गर्दै निर्वाचन आयोगलाई स्वतन्त्र रूपमा निर्वाचनको मिति घोषणा गर्ने अधिकार दिइएको थियो ।

प्रधानमन्त्री र सबै प्रदेशका मुख्यमन्त्रीहरू मिलेर बनेको संवैधानिक परिषद्ले गत महिना नयाँ राष्ट्रव्यापी जनगणनाको विवादास्पद नतिजालाई अनुमोदन गरी तोकिएकै समयमा निर्वाचन नहुने निश्चित भएको छ ।

जारी विज्ञप्तिअनुसार निर्वाचन आयोगलाई पछिल्लो जनगणना अनुसार देशमा नयाँ निर्वाचन क्षेत्र घोषणा गर्न कम्तिमा चार महिना लाग्ने छ । आयोगले सेप्टेम्बर २७ मा प्रारम्भिक निर्वाचन क्षेत्र सार्वजनिक गर्ने छ । जुन सूचीमा दलहरुले दाबी विरोध गर्न पाउने छन् । त्यसपछि आयोगले सच्याएर नोभेम्बर ३० मा निर्वाचन क्षेत्रको अन्तिम सूची सार्वजनिक गर्ने छ ।

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस