२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्ने आचार्य कृष्ण दमाईं रोजगारीको खोजीमा

बैतडी, असोज १ गते । संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण बैतडीका कृष्ण दमाईं रोजगारी नपाएर भौँतारिनुभएको छ । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गर्नुभएको हो । २०६४ सालमा कन्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि दलित समुदायमाथिको विभेदविरुद्ध संस्कृत विषय अध्ययनमा जुट्नुभएको थियो । रोजगारीका लागि उहाँका प्रयत्न सफल हुन सकेका छैनन् ।

उहाँले भन्नुभयो, “दलित सङ्घ/संस्थामा काम गर्न पनि अङ्ग्रेजी विषय पढेको खोज्छन् । दलितका संस्था राजनीतीकरण र डलरमुखी कार्यक्रम बढी हुन्छन् । म जस्ता संस्कृत विषय पढेकाले महìव पाउने कुरा भएन ।” उहाँको चाहना छ, संस्कृत भाषा पढाउने । तथापि आयोग नखुलेकाले कृष्ण दमाईंको त्यो इच्छा पनि पूरा हुन सकेको छैन । स्थानीय तहले पालिकामा शिक्षक नियुक्त गर्दै आएको भए पनि आफूले त्यो अवसरसमेत नपाएको गुनासो कृष्ण दमाईंको छ । उहाँले आचार्य उत्तीर्ण गरेपछि रोजगारी नपाउँदा ज्योतिष र कर्मकाण्ड विषयको पढाइ गर्ने धोको अधुरै रहेको बताउनुभयो ।

उहाँले ४ कक्षामा पढ्दा गाउँमा जातीय विभेद खेप्नु परेपछि संस्कृत पढेर पुराण वाचन गर्ने इच्छा पलाएको बताउनुभयो । बैतडीको शिवनाथ गाउँपालिका–५, बकुन्नामा जन्मनुभएका दमाईं हाल कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–३, तिलकपुरमा बस्दै आउनुभएको छ । बैतडीको शिवनाथ गाउँपालिकाको दुर्गम गाउँबाट जातीय विभेद र गरिबी सहन नसकेर दमाईंका परिवार कुम्लो बोकेर तराई झरेका थिए । कन्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण गरेपछि दमाईं आचार्यको पढाइ पूरा गर्न दाङ पुग्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस