२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुदूरपश्चिमको राजधानी सार्ने, कहाँ सर्न सक्छ ?

कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने प्रयास सुरु भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशको राजधानीको विषयमा छलफल गरिने बताइसक्नुभएको छ । २०७५ असोज १२ गते बसेको प्रदेशसभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो । त्यो निर्णय कार्यन्वयन हुन नसकेपछि नयाँ स्थानको खोजी सुरु भएको हो ।

स्थायी राजधानी तोकिएको जग्गा वन क्षेत्रमा परेपछि सरकारलाई राजधानी कार्यान्वयन गर्न सकस भएको थियो । त्यसैमाथि वन क्षेत्रमा राजधानी बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेका दुई मुद्दाले पनि सरकारलाई काम अगाडि बढाउन दिएको थिए । स्थायी राजधानीको स्थान तय भएको ५ वर्ष सम्म पनि जग्गा प्राप्ति नभएपछि सरकार अहिले राजधानीको स्थान परिवर्तन गर्नु पर्ने पक्षमा पुगेको छ । डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षिक उत्सव कार्यक्रमका लागि डडेल्धुरा पुग्नुभएका मुख्यमन्त्री शाहले बुधवार खुलेरै राजधानी सार्ने विषयमा छलफल भइरहेको प्रस्ट पार्नुभयो ।

‘अहिलेका लागि प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा तोकिएको छ । उक्त क्षेत्रमा वनको विवाद भएकाले संरचना निर्माण गर्न सकिएको छैन ’, प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । राजधानीको विषयमा सर्वपक्षीय छलफल र संघीय सरकारसँग परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शाहले अबको केही समयमै सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी पाउने दाबीसमेत गर्नुभयो । मुख्यमन्त्री शाहले आवश्यक भएमा प्रदेशको नाम पनि परिवर्तन गर्न सकिने विषय भएको बताउनुभयो ।

मुख्यमन्त्री शाहले राजधानी सार्न सक्ने अभिव्यक्ति दिनु भन्दा अधि नै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले यस विषयमा छलफल समेत चलाइसक्नुभएको छ । देउवा धनगढीमै राजधानी कायम गराउने प्रयासमा जुटेको बताइन्छ । केही समय अघि देउवाले धनगढी उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला राना र गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टलाई बोलाएर यस विषयमा छलफल गर्नुभएको थियो ।

गोदावरी ३ नम्बर वडाको चौकीडाडामा रहेको ८० बिघा क्षेत्रफलमा राजधानी सार्न सकिने प्रमुख भट्टले सुझाव दिनुभएको थियो । उक्त छलफलमा मत्स्य पालन रहेको क्षेत्रमा पनि राजधानी बनाउने विषयमा छलफल भएको थियो । तर, भट्टको जोड भने चौकी डाँडामा थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मुख्यमन्त्रीको क्वाटर प्रदेश प्रमुखको कार्यालय र क्वाटर तथा संसद् भवन मात्रै बनाएर भए पनि अघि बढ्नु पर्ने सुझाव दिइएको छ । तर, त्यसको ठोस सहमति भएको छैन । अहिले मुख्यमन्त्री शाहले डडेल्धुरामा दिएको अभिव्यक्तिले सरकार भित्री रूपमा गोदावरीमा तोकेको राजधानी सार्ने अन्तिम तयारीमा पुगेको पुष्टि भएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस