२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यसकारण सुस्ताउँदैछ नेपाली सेयर बजार

Nepali stock market is slowing down : ब्रोकरहरुलाई दिँदै आएको वर्किङ क्यापिटल सुविधामा बैंकले कडाइ गर्न थालेपछि त्यसको असर सेयर बजारमा देखिएको छ। कमजोर पुँजीकोषले तीव्र ऋण विस्तारलाई प्राथमिकतामा राख्‍न छाडेका बैंकले सेयर राफसाफमा ब्रोकरहरुलाई दिइरहेको सुविधा पनि घटाउँदै छन्। राष्ट्र बैंकको सुपरिवेक्षण कसिलो हुन थालेपछि बैंकले ब्रोकरलाई दिइएको ऋणमा कडाइ गर्न थालेका हुन्। त्यसको असर सेयर बजार सुस्ताउन पुगेको हो।

एक बराबर चारसम्मको अनुपातमा खरिद गर्न दिने ब्रोकरहरु झनै मारमा परेका छन्। ‘वर्किङ क्यापिटल भनिए पनि बैंकले यस्तो रकम ब्रोकरहरुलाई ओभरड्राफ्ट जसरी दिने गरेका थिए। तर लगानीको गुणस्तर खस्किन थालेपछि बैंकहरु नै हच्किएका छन्,’ एक ब्रोकरले भने, ‘नयाँ ब्रोकरले त उक्त सुविधा समेत पाएका छैनन्।’

लगानीकर्ताको मनोबल घटेका बेला बैंकको सहायता पनि नपाउँदा नेप्से सूचक अझै तल झर्ने ब्रोकरहरु बताउँछन्। हाल दुईवटा वाणिज्य बैंकले ब्रोकरलाई यो ऋण सुविधा दिँदै आएका छन्। जसमध्ये एउटा बैंक कमजोर पुँजीकोषको मारमा छ। अर्कोले कर्जा विस्तारलाई प्राथमिकतामा राख्‍न छाडेको ती ब्रोकरले बताए।

बैंकले एउटा ब्रोकरलाई ८ करोड रुपैयाँसम्म यस्तो सुविधाको रकम उपलब्ध गराउँछन्। केही ब्रोकरले भने आफ्नो साखका कारण २०/२२ करोड रुपैयाँसम्म पनि लिने गरेका थिए। ‘राष्ट्र बैंकको निर्देशन भन्दै बैंकहरुले हाम्रो ऋण सीमा घटाउन थालेका छन्,’ अर्का ब्रोकरले भने, ‘चालु पुँजी कर्जाको नयाँ व्यवस्था अनुसार सीमा बढेको छ भन्यो भने त्यो उत्पादनमूलक क्षेत्रलाई मात्रै हो भनेर टार्छन्।’

यस्तो सुविधाको रकमबापत पुराना ब्रोकरले करिब साढे दुई अर्ब रुपैयाँसम्म उपयोग गर्ने गरेका थिए। जबकी ४ अर्ब रुपैयाँसम्म उपयोग गर्न पाउने सीमा बैंकले दिएका थिए। अधिकांशले यस्तो सेवा नलिने हुँदा पूर्णतया रकम उपयोग हुँदैनथ्यो। बैंकले एउटा ब्रोकरलाई ८ करोड रुपैयाँसम्म यस्तो सुविधाको रकम उपलब्ध गराउँछन्। केही ब्रोकरले भने आफ्नो साखका कारण २०/२२ करोड रुपैयाँसम्म पनि लिने गरेका थिए। तर अहिले बैंकले समस्या देखाउँदै निश्‍चित सीमाभन्दा बढी दिन लगभग बन्द नै गरिदिएको ती ब्रोकरले बताए।

खासमा ‘टी प्लस टु’ को व्यापार चक्रमा ब्रोकरको व्यवसाय संचालन हुन्छ। तर खरिदकर्ताले तोकिएको समयमा भुक्तानी नदिँदा ब्रोकरहरुको लिनु पर्ने रकमको भार बढ्छ। क्रेताबाट समयमै रकम नउठ्दा ब्रोकरहरु आफैंले समय सीमाभित्र यस्तो रकम भुक्तानी गर्ने गर्छन्। राफसाफ प्रणालीले ‘टी प्लस टु’ भन्दा अधिक समयसीमा दिंदैन। कारोबारीले समयमै ब्रोकरको खातामा रकम नपठाए त्यो मूल्य ब्रोकर स्वयंले चुकाउनुपर्छ। किनभने ब्रोकर आफैं प्रणालीको हिस्सा हुन्। ‘यसबीच ब्याजदर पनि माथिल्लो तहमै छ। जसले गर्दा ब्रोकरहरुले आफैं पनि आवश्यकताभन्दा बढी कर्जा लिन चाहिरहेका छैनन्,’ उनले भने, ‘यही क्रम जारी रहे मौद्रिक नीतिपछि खुकुलो हुन थालेको सेयर धितो कर्जा पनि निरुत्साहित हुन थाल्छ।’

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस