२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लोकमार्ग बनेपछि फेरियो जीवनशैली

सिन्धुलीमाढी । करिब दुई दशकअघि गोलन्जोर गाउँपालिका–६, बासेश्वरकी विमला श्रेष्ठ विवाह भएर सुनकोसी नजिकै घरमा पुग्दा निराश बन्नुभएको थियो। सोही ठाउँमा दिन कटाउनुभएकी श्रेष्ठलाई अहिले भने नसोचेको खुसी मिलेको छ। घरमुनिबाट बनेको मध्यपहाडी लोकमार्गको दायाँबायाँ बारी परेपछि खुसी लागेको उहाँले सुनाउनुभयो।

त्यही बारीमा उब्जिने खाद्यान्नबाट उहाँको परिवारलाई छ महिना पनि खान पुग्दैन थियो। अहिले भने बारीको कुना (छेउ) घडेरीका रूपमा बेच्दा करोड रुपियाँ हात पर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो।

मध्यपहाडी लोकमार्ग अन्तर्गत ६१ किलोमिटर लम्बाइको खुर्कोट–घुर्मी खण्ड निर्माण भई नियमित यातायात सेवा सञ्चालनसँगै उक्त लोकमार्गको छोउछाउमा पर्ने जग्गाको मूल्य आकासिँदो रहेको स्थानीयले बताएका छन्। यो लोकमार्ग निर्माण हुनुअघि सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिकाका खुर्कोट, बासेश्वर, भुवनेश्वरी, डुडभन्ज्याङ, खाङसाङलगायतका दर्जनभन्दा बढी ठाउँमा जग्गाको मूल्य नै थिएन। एक बिघा जमिन बेच्दा ५० हजार रुपियाँ हात लाग्न गाह्रो थियो तर अहिले मध्यपहाडी लोकमार्गले छोएको त्यही ठाउँमा जग्गाको मूल्य प्रतिआना पाँच लाखदेखि आठ लाख रुपियाँसम्म पुगेको गोलन्जोर गाउँपालिका–७ का शरद आचार्यले जानकारी दिनुभयो।

लोकमार्गमा होटल तथा विभिन्न व्यवसाय चल्ने देखेपछि बाहिरका मान्छे आएर यहाँ जग्गा किन्ने क्रम बढेको छ। जग्गा किनबेचको क्रम बढेसँगै मूल्य बढेको उहाँको भनाइ छ। बिपी राजमार्गको तुलनामा निकै ठुलो सडक बनेपछि गाउँमै व्यापार व्यवसाय गरेर आम्दानी गर्न सकिने भएको छ।

ओखलढुङ्गाका अमर घिसिङले होटल व्यवसायका लागि गोलन्जोर गाउँपालिका–३, ग्वालटारलाई रोज्नुभएको छ। उहाँले ग्वालटारको लोकमार्ग नजिकैको जग्गा भाडामा लिएर होटल व्यवसाय सुरु गर्नुभएको छ। “वार्षिक एक लाख रुपियाँभन्दा बढी तिरेर जग्गा भाडामा लिएर होटल सुरु गरेको छु। लोकमार्गले जग्गाधनीसँगै अरूलाई पनि फाइदा पु-याएको छ,” उहाँले भन्नुभयो।

लोकमार्ग निर्माणसँगै गाउँको मुहार फेरिएको छ । “लोकमार्ग आसपासको जग्गा धेरै महँगिएको छ। केही महिनाअघिसम्म साढे पाँच लाख रुपियाँ प्रतिआनामा कारोबार हुने जग्गालाई अहिले आठ लाखसम्म भन्न थालेका छन्,” ग्वाल्टारकै किसान राजन कार्कीले भन्नुभयो। लोकमार्गले जग्गाको भाउ मात्रै बढाएको छैन, गाउँमै व्यवसाय गर्न सम्भव भएको छ र स्थानीय उत्पादनको बिक्री पनि बढेको छ। लोकमार्ग निर्माणपछि स्थानीय उत्पादनले समेत सहज रूपमा बजार पाएका छन्। स्थानीयस्तरमा उत्पादित दुध, दही, तरकारी तथा अन्य फलफूलको राम्रो मूल्यमा व्यापार हुने गरेको छ । उहाँले थप्नुभयो, “अहिले तरकारी गाउँमै बिक्री हुन्छ। गाउँकै होटल र पसलमा पु-याउन सकेका छैनौँ। गर्न सक्नेलाई आम्दानी ढोकैमा छ।”

स्थानीयका अनुसार लोकमार्ग निर्माणले यस क्षेत्रका बासिन्दाको आयस्रोत बढेको छ। पूर्वी पहाडका जिल्लालाई समेट्ने गरी बनेको मध्यपहाडी लोकमार्ग आसपासमा जग्गा भएका स्थानीयका लागि करोडौँ आम्दानी गर्न सक्ने स्रोत बनेको छ। लोकमार्ग निर्माणका क्रममा मुआब्जाको विषयमा सङ्घर्ष गरेका स्थानीयलाई हाल मुआब्जा नपाएकोमा कुनै गुनासो छैन।

 

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस