२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदमा एक्लियो रास्वपा

काठमाडौं । संघीय संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लिएको छ । आज हुने संसदीय समितिको सभापति निर्वाचनमा प्रतिपक्षी एमाले र राप्रपाले पनि भाग लिएपछि रास्वपा एक्लिएको हो । प्रतिनिधिसभाका विभिन्न १० वटा विषयगत समिति सभापतिमा सांसदहरूले सत्ता गठबन्धन र प्रतिपक्षी दलहरूले भागबण्डा मिलाएर उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाका १० र संघीय संसदको संयुक्त दुई गरी १२ वटा समितिमा गठबन्धन र प्रतिपक्षी दलहरूबीच भागबन्डा भएको हो । नेकपा एमालेले प्रतिनिधसभातर्फका दुईवटा समिति पाएको छ । जसमा लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल र बालबालिका तथा सामाजिक समितिको सभापतिमा किरण साह सभापति बन्नुहुँदैछ ।

त्यस्तै, नेपाली कांग्रेसबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा सन्तोष चालिसे बन्नुहुनेछ । नेकपा माओवादी केन्द्रकी विमला सुवेदी कानून, न्याय तथा मानव अधिकार समिति सभापति घोषित हुँदै हुनुहुन्छ ।

दलहरुबीच सहमतिमा माओवादीले पाएको भनिएको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपालाई दिइएको छ । जसमा राप्रपाका दीपकबहादुर सिंह सभापति बन्नुहुनेछ । त्यस्तै जनमत पार्टीका अब्दुल खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति बन्नुहुनेछ ।

एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति पाउनुभएको छ । अन्य दुईवटा संयुक्त समितिमा पनि सत्ता गठबन्धन र प्रतिपक्षीबीच भागबन्डा भएको छ । त्यस्तै, संसदको दुवै सदनको संयुक्त समिति– राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति भने एमालेले पाएको छ । यता रास्वपाले भने उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीको उम्मेदवारी दिएको छ । यद्पि समिति सभापतिमा निर्वाचन हुने स्थितिमा रास्वापाको हार निश्चित छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस