काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यूनचापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षा गराएको जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि सामान्य वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रासस