२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

Road Accident

काठमाडौं । सिरहा, कर्जन्हा नगरपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको गएराति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

सल्यान, कपुरकोट गाउँपालिका-३ आगरखोलास्थित सडकमा रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको लु.२ ख ५७३१ नम्बरको हाईस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा हाइसमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रूकुम पश्चिम सानीभेरी गाउँपालिका-११ बस्ने ६० वर्षीय कमारो कामी र सल्यान दार्मा गाउँपालिका-२ बस्ने ३६ वर्षीय ओमपद खत्रीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार १४ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ भने ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार हाईस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-२ हङकङ डाँडास्थित सडकमा रोकी राखेको ना.१ क ९७७९ नम्बरको बर्दिबास बोर्डिङ स्कुलको बसमा प्रदेश २-०२-००४ प ७०६७ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने २२ वर्षीया रबिना महतोको ट्रमा सेन्टर बर्दिबास र मोटसराइकलमा सवार उनकै बुवा ५५ वर्षीय उपेन्द्र महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा, माथागढी गाउँपालिका-२ सपाङ्दीस्थित सडकमा झडेवाबाट रूप्सेतर्फ जाँदै गरेको लु.४ त ६६३२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा लेबर काम गर्ने सोही गाउँपालिका-२ दोहोरा बस्ने ३८ वर्षीय वेद प्रसाद भुषालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा लेबर काम गर्ने ५ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस