२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दैनिक आउनुपर्ने बाध्यता जस्तै भएपछि त्रिविका प्राध्यापक विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडे

काठमाडौं । दैनिक आउनुपर्ने भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिनसमेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले नै बोकेर हिँडेको खुलाउनुभएको हो ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा उहाँले विद्युतीय मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गर्नुभयो ।

उपकुलपति बास्कोटाले भन्नुभयो, “हाम्रा त शिक्षकहरू पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर गर्‍यो, तलब बुझ्ने चलन । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरूले बोकेर हिँडे । पुलिसलाई ल कारबाही गर भन्दा पुलिसले निवेदन नलिने,” उहाँले भन्नुभयो ।

उपकुलपति बास्कोटाले उनीहरूलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरूले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसहरूले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले थप भन्नुभयो, “यो माननीयहरूले जान्नुपर्छ मेरो अफिस बन्द थियो । मैले होटल एल्लो प्यागोडा, मेरो मित्रवत् सम्बन्ध भएकाले पैसा नलिने, हामीलाई चिया पनि सित्तैमा खुवाउने त्यो ठाउँमा मिटिङ गरेको केही अराजक जत्था कुनै संगठनको आवरणमा आएर हामीहरुको माइन्युट लुटेर लगेकै हो । लुटेर लगेको डकुमेन्ट किन बुझ्नुभयो । अहिले पनि त्यो शिक्षामन्त्रीको मै छ । अब हामीले पुलिसमा जाहेरी दिँदा नलिएको अवस्था छ । यी समस्याहरू छन् थुप्रै । हामीहरूकोमा कर्मचारी संगठन, प्राध्यापक संघ र विद्यार्थीको युनियन । यो तीन वटा मात्रै हो । तर विद्यार्थीको २२ वटा दर्ता भएका छन । जति राजनीतिक दल, त्यतिनै छन् । कति राजनीतिक दल छन्, मलाई त्यो पनि थाहा छैन । तर ब्यानर लिएर आउँछन् । हाम्रो भाग चाहियो भनेर ।”

उहाँले विश्वविद्यालय राजनीतिक भागबन्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटकपटक दोहोर्‍याउनुभयो । “यो हामीले बसालेको थिति हो । हामीले गम्भीर भएर विश्लेषण गरौँ । हामीले नै हटाउने हो । यो भीसी एक्लैले चाहेर हट्दैन माननीयज्यूहरू । मैले यो जानकारी गराएँ,” उहाँले भन्नुभयो । उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उहाँहरूलाई आवश्यकताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस