२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपप्रमुखले सुविधाको रकम शिक्षामा खर्च गर्ने

बैतडी । दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले आफूले पाउने मासिक सुविधाको रकमबाट नगरपालिकाका–११ वटा वडाका २२ जना दलित, विपन्न र पिछडिएका क्षेत्रका विद्यार्थीलाई प्राविधिक विषय पढाउन प्रतिविद्यार्थी वार्षिक ५० हजारका दरले रकम खर्च गर्ने घोषणा गर्नुभएको छ ।

स्थानीय तहको उपप्रमुखका रूपमा आफूले पाएको मासिक ४३ हजार रुपियाँ र बैठक भत्ताबापत प्राप्त भएको पहिलो आर्थिक वर्षको सम्पूर्ण रकम जम्मा गरेर नगरपालिकाभित्रका १० जना छात्र र १२ छात्रा गरी कुल २२ जना दलित, विपन्न र पिछडिएको क्षेत्रका विद्यार्थीलाई प्रतिविद्यार्थी ५० हजारका दरले दिने घोषणा गर्नुभएको हो ।

उपप्रमुख चन्दले बुधबार आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै आफूले नगरपालिकालाई आर्थिक व्ययभार पर्ने गरी अन्य कुनै सेवा सुविधा नलिएको बताउनुभयो । “मासिक ४३ हजार रुपियाँ र केही बैठक भत्ताको रकम मेरो खातामा आउँछ, त्यो रकम मैले दलित, विपन्न र पिछडिएको क्षेत्रका विद्यार्थीको पढाइमा खर्च गर्दै छु,” उप प्रमुख चन्दले भन्नुभयो ।

उपप्रमुख चन्द आफ्नै गाडीमा कार्यालय आवतजावत गर्दै आउनुभएको छ भने निवास सुसविधा र स्वकीय सचिव जस्ता कुनै पनि पदमा आफन्त र नातागोता भर्ना गर्नुभएको छैन । कुनै लाभका लागि राजनीतिमा नआएको बताउनुहुँदै उपप्रमुख चन्दले नगरपालिकाभित्र आर्थिक अभावका कारण प्राविधिक विषय पढ्न नसक्ने थुप्रै विद्यार्थी भएको बताउनुभयो ।

एसइई परीक्षा दिएर बसेका गरिब, दलित र पिछडिएको क्षेत्रका विद्यार्थीलाई बाली विज्ञान, सबओभरसियर, भेटेरिनरी जेटिएलगायतका प्राविधिक विषय पढ्न आर्थिक सहयोग गर्ने उपप्रमुख चन्दले बताउनुभयो । आउँदो चार वर्षको सेवा सुविधाबापत मिल्ने सबै खर्च शिक्षा क्षेत्रमा लगानी गर्ने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस