२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छौँ : प्रम प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले कडा कदम चालेको बताउनुभएको छ । उहाँले सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताउनुभयो ।

इटालीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको सम्मानमा रोममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन । सबैको साथ आवश्यक छ ।”

जनताले लामो समयदेखि सास्ती बेहोर्दै आएका राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको चर्चा गर्दै अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ । सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिने सरकारले कामको थालनी गरेको छ ।”

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहितविपरीत सङ्गठित अपराधका रूपमा देखिएकाले सरकारले उक्त कदम चालेको बताउनुभयो । ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफिया प्रवृत्तिको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ ।”

 

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस