२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिटरब्याजी पीडित भनिएका युवाले प्रशासनभित्रै गरे विष सेवन

विराटनगर । मिटरब्याजीबाट आफू पीडित भएको बताउने एक युवाले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङ परिसरभित्रै विष सेवन गरेका छन्।

अर्कै घटनामा प्रहरी पक्राउ गर्न आएको थाहा पाएपछि मिटरब्याजपीडित भनिएका मोरङको कटहरी गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय विनित सोनारले दिउँसो ४ बजेतिर प्रशासन परिसरमै कीटनाशक औषधि सेवन गरेका हुन्।

अनुचित लेनदनमा फसाएकाले मिटरब्याजबाट पीडित भएको भनेर सोनारकी पत्नी रीता सोनारले गत असारमा डा. नितेष तिवारीविरुद्ध प्रशासनमा उजुरी दिएकी थिइन्। प्रशासनले दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो। तर, चेक बाउन्ससँग सम्बन्धित अर्कै घटनामा सोनारविरुद्ध त्यसअघि नै पक्राउ पूर्जी जारी भइसकेको पाइएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले सोनार र डा. तिवारीबीच आइतबार छलफल गराएका थिए। छलफलमा दुई पक्षबीच सहमति हुन सकेन। साहका अनुसार तत्काल सहमति नजुटेपछि दुवै पक्षलाई थप ५ दिनको समय दिइएको थियो। ‘दुवै पक्षलाई ५ दिनभित्र सहमति भएमा जानकारी गराउनु, हैन भने कानून अनुसार अघि बढ्नुपर्छ भनेर पठाइएको थियो,’ उनले भने, ‘तर, कार्यकक्षबाट बाहिर निस्किएपछि विष सेवन गरेको कुरा आयो।’

उनका अनुसार गाडी किन्ने भनेर आफूसँग सोनारले १५ लाख रूपैयाँ लिएको दाबी डा. तिवारीले गरेका छन्। तर, सोनार भने ७ लाख मात्रै लिएको बताउँछन्। ‘लेनदेनका विषयमा दुवै पक्षको आआफ्नै हिसाबको मौखिक दाबी मात्रै छ। लेनदेन कागजपत्र वा लिखित प्रमाण केही पनि छैन,’ सहायक प्रजिअ साहले भने, ‘पैसा लेनदेनको मिति पनि यकिनसाथ भन्न सक्दैनन्। एकले अर्काको कुरा स्वीकार गर्दैनन्।’

‘सम्बन्ध राम्रो हुनजेल विश्वासमा कारोबार गरेको देखिन्छ। तर, कति रकमको लेनदेन भयोभन्ने यकिन छैन,’ प्रशासनका एक कर्मचारी भन्छन्, ‘मिटरब्याजसँग जोडिएको घटनामा मौखिक कारोबारलाई हेरेर न्याय दिनुपर्ने हुन्छ। प्रमाण केही पनि हुँदैन।’ प्रमाण केही नहुने र दुवै पक्षले आआफ्नो दाबी प्रस्तुत गर्ने हुँदा समस्यालाई टुंग्याउन गाह्रो पर्ने गरेको उनको भनाइ छ। सोनारको विराटनगर महानगरपालिका–७ स्थित आर, के चिल्ड्रेन अस्पतालअगाडि चिया–नास्ताको पसल थियो।

पसल चलाउने क्रममा उनले डा. तिवारीसँग ४ वर्षअघि ७ लाख लिएको दाबी गरेका छन्। १५ लाख तिरिसक्दा पनि अझै १२ लाख बाँकी रहेको भनेर तनाव दिन थालेपछि अनुचित लेनदेनमा उजुरी दिनु परेको सोनारले बताउँदै आएका छन्। प्रशासनका अनुसार डाक्टरसँग ऋण लिएका बेला हस्ताक्षर गरेर आफूले खाली चेक दिएको सोनारको भनाइ थियो। त्यही चेक बाउन्स गराएर हैरानी दिएको उनले बताएका थिए। तर, डाक्टर तिवारीले भने आफूले नगद दिएर चेक लिएको बताएको प्रशासनले जनाएको छ। तिवारीले विनितका भाइ अजितलाई १५ लाख रकम दिएपनि रकम फिर्ता नपाएको बताउँदै आएका छन्।

प्रशासनमा छलफल गरेर बाहिर निस्किँदै गरेका सोनारलाई पक्राउ गर्न प्रहरी पुगेको थियो। प्रहरीका अनुसार उनी चेक बाउन्ससँग सम्बन्धित अर्कै २ वटा मुद्दामा फरार थिए। प्रहरीले खोजी गरिरहेको थियो। प्रशासन आएको जानकारी पाएपछि पक्राउका लागि प्रहरी पुग्यो। प्रहरी आएको थाहा पाउनसाथ गोजीबाट निकालेर सोनारले विष सेवन गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए। ‘लामो समयदेखि फरार रहेका सोनार जिल्ला प्रशासन कार्यालय पुगेको जानकारी पाएपछि पक्राउ गर्नका लागि प्रहरी गएको थियो,’ उनले भने, ‘आफू पक्राउ पर्ने थाहा पाउनसाथ गोजीमा बोकेको कीटनाशक विषादी प्रशासनभित्रै सेवन गरिदिए।’

दाहालका अनुसार प्रशासनमा प्रहरी पुग्नसाथ सोनारले आफ्नै गोजीबाट बट्टा निकालेर विष सेवन गरेका हुन्। ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेपछि उनलाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि कोसी अस्पताल लगेको थियो। अवस्था गम्भीर रहेका सोनारको उपचार कोसीमा सम्भव भएन। थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल पुर्‍याइएको दाहालले बताए। परिवारका अनुसार सोनारले पछिल्लो समय माटोको ठेक्कापट्टा गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङमा सोनारविरुद्ध चेक बाउन्ससँग सम्बन्धित २ वटा अलगअलग जाहेरी परेको थियो। विराटनगर महानगरपालिका–१२ का प्रदीप भुजेलले २०७९ चैत २६ गते र विराटनगर–१ का विनोद ढकालले गत जेठ २२ गते उनीविरुद्ध किटानी जाहेरी दिएका थिए। भुजेलले २ लाख र ढकालले ६ लाख रकम उल्लेख गरेर जाहेरी दिएपछि प्रहरीले अलगअलग पक्राउ पूर्जी जारी गरेको थियो।

प्रहरीले भुजेलको जाहेरीका आधारमा गत वैशाख २९ गते र ढकालको जाहेरीका आधारमा असार १ गते अदालतबाट पक्राउ अनुमति लिएको हो। तर, फरार रहेका सोनार पक्राउ परेका थिएनन्। ‘कानूनी कारबाहीका लागि अदालतबाट अनुमित लिइएको भएपनि सोनार पक्राउ परेका थिएनन्। फरार रहेकाले खोजी जारी राखिएको थियो,’ डीएसपी दाहालले भने, ‘तर, प्रहरीले पक्राउ गर्नै नपाइकन विष सेवन गरिदिए। अहिले उपचार भइरहेको छ।’

उनका अनुसार डा. तिवारीसँग जोडिएको घटनामा पक्राउ गर्न प्रहरी गएको हैन। ‘प्रदीप भुजेल र विनोद ढकालसँग जोडिएको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर पक्राउ गर्न प्रहरी पुगेको हो,’ उनले भने, ‘तिवारीसँग जोडिएको घटना हामीलाई थाहा भएन।’ आफूविरुद्ध केही भइहाल्यो भने विष सेवन गर्छुभन्ने मनस्थिति बनाएर त्यो तयारीका साथ सोनार प्रशासन आएको देखिएको प्रहरीको बुझाइ छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी दाहालले दिए।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस