२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करीमा तपाइको नाम जोडेका छन् भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्रीले भने यस्तो प्रश्न नगर्नु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले घटनामा जोसुकै जोडिएको भए पनि कारबाहीबाट पछि नहट्ने बताउनुभएको छ ।

आज विमानस्थलको स्थलगत अनुगमनपछि मन्त्री श्रेष्ठले पत्रकारहरूलाई उक्त प्रतिक्रिया दिनुभएको हो । उहाँले भन्नुभयो, ‘यसको नेक्सस र रुटमा पुग्ने गरी कारबाहीको प्रक्रियामा जानुपर्छ भन्नेमा प्रधानमन्त्रीको पनि जोड रहेको छ । मैले सम्बन्धित अधिकारीलाई पनि कडा निर्देशन दिएको छु ।’

राजश्व अनुसन्धान विभागले घटनाको छानबिन गर्न समिति बनाएको भन्दै मन्त्री श्रेष्ठले अहिले सबै निकायले यही समितिलाई सघाउने उल्लेख गर्नुभयो । आवश्यकता परेमा सीआईबी, अपराध अनुसन्धान शाखाजस्ता निकायले पनि अनुसन्धान गर्नसक्ने उहाँको भनाइ छ ।

विमानस्थलको भन्सारमा प्रहरीलाई पनि सामेल गर्ने विषयमा सरकारले सोचिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । ‘हामीले भन्सारका अधिकारीलाई तपाईंहरूलाई प्रहरी चाहिँदैन ? भनेर सोध्यौं । उहाँहरूले प्रहरी भए राम्रै हुन्छ भन्नुभएको छ । हामीले नै मन्त्रिपरिषदको बैठकमा प्रहरीलाई पनि सामेल गर्नुपर्छ भनेर छलफल गरेका छौं । यसबारे चाँडै आवश्यक निर्णय लिइन्छ ।’

एक पत्रकारले मन्त्री श्रेष्ठलाई सुन तस्करीमा तपाईंको पनि नाम मुछिएको छ नि ? भनेर प्रश्न गर्नुभएको थियो । मन्त्री श्रेष्ठले यस्तो प्रश्न नगर्न आग्रह गर्नुभयो । ‘उत्तर खोज्नुपर्ने स्तरको प्रश्नै होइन यो । यो देशको भ्रष्टाचारविरोधी सुशासनको अभियानलाई कुनै पनि प्रकारबाट असफल पार्ने वा दिग्भ्रमित पार्ने प्रयासबाट विचलित गर्न सक्छु भनेर कसैले नसोचे हुन्छ,’ उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस