२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेसबुकमा स्टाटस लेखेको आधारमा अध्यक्ष बस्नेत विरुद्ध मुद्धा हालेपछि चौतारीको आपत्ती

काठमाडौं । अध्यक्ष गणेश बस्नेतविरुद्ध उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाटै नेपाल प्रहरीको साईबर ब्यूरोमा साईबर क्राइममा फसाउन भन्दै उजुरी दर्ता गरिएको घटनाप्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सबै सुरक्षा जाँच पासगरी ठूलो परिमाणमा भएको सुन तस्करी गृह नेतृत्वसहित उच्च अधिकारीहरुको संलग्नताबिना सम्भव नहुने विषयमा दिइएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयका सदस्यले नै प्रहरीमा उजुरी दिनु आपत्तिजनक काम एवं सत्ता उन्मादको चरम रुप भएको प्रेस चौतारीको ठहर छ ।

चौतारीले आज एक विज्ञप्तिमार्फत गृहमन्त्रालयको सचिवालयबाटै अध्यक्ष बस्नेतलाई फसाउन रचिएका सबै षडयन्त्रबारे जानकार रहेको सार्वजनिक गर्दै जिस्क्याउने काम भएमा त्यसबाट उत्पन्न हुने परिणामप्रति गृहमन्त्री नै जिम्मेवार हुने चेतावनी दिएको छ ।

“गृहमन्त्री श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गराएर हाम्रो संगठनका अध्यक्षलाई प्रहरीले पक्राउ गर्यो भनेर समाचार लेखाउनु र समाचार लेखाएपछि सचिवालयकै सदस्यले प्रहरीमा उजुरी दिनु भनेको गृह मन्त्रालय आफ्नो पक्षबाट कमी कमजोरी भएको र त्यो घटना ढाकछोप गर्न न्वारानदेखिको बल लगाइरहेको प्रष्ट हुन्छ ।”, विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूमाथि उठाइएको विषयमा प्रष्ट पार्नुपर्छ । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको साटो हाम्रो संगठनका अध्यक्षलाई फसाउने षड्यन्त्रसहित प्रहरीमा जवर्जस्ती उजुरी दर्ता गराउनुले कतै ’स्याल कराउनु र बाखा हराउनु’ जस्तै भएको त होइन ? भन्ने गम्भीर प्रश्न पनि उठेको छ ।”

गृहमन्त्रीको सचिवालयबाट भएको यो कामले कतै गृह मन्त्रालय नेपाली प्रेस र आम नागरिकलाई आतंकित पारेर त्रासमा राखेर निरंकुश एवं अधिनायकवादी शासन चलाउने अभ्यासमा त छैन भन्ने गम्भीर आशंका पैदा भएको चौतारीको भनाइ छ ।

“गृहमन्त्रीको सचिवालयबाट भएको यो काम अत्यन्तै आपत्तिजनक मात्र होइन, नेपालको संबिधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको समेत बिरुद्धमा छ । सत्ता उन्मादमा आएर आफूमाथि कसैले प्रश्न उठाउन नदिने योजनाका साथ चालिएको यो काम तत्काल फिर्ता लिएर माफी माग्न हामी गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छौं” संगठनका महासचिव हिरामान लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै नेपाली प्रेसको मुख थुनेर आतंकित पार्दै आफ्नो अधिनायकवादी शासन चलाउने योजनामा तत्काल ब्रेक लगाउन पनि चेतावनी दिइएको छ । “ आफूमाथि उठेको प्रश्नको जवाफ दिनुको साटो गृह मन्त्रालय नै गैरकानूनी बाटोमा हिँड्ने यो तहको गैरजिम्मेवारपूर्ण कामप्रति प्रेस चौतारी नेपाल खेद ब्यक्त गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

प्रेस चौतारी नेपाल निरंकुश शाही शासनको बिरुद्ध डटेर नै यहाँसम्म आइपुगेको उल्लेख गर्दै जस्तासुकै अधिनायकवादी शासनसत्तासँग नझुकेको यो संगठन कठिन परिस्थितिमा पनि सत्यको वकालत गर्ने र प्रश्न सोध्ने अधिकार सुरक्षित राख्ने भूमिकामा कहीँकतै नचुकेको र नझुकेको जनाइएको छ । “शासनसत्ताको बागडोर आफ्नै हातमा लिएका तात्कालिन राजाको आतंक र धम्कीसामू नझुकेको प्रेस चौतारी नेपाल र यसको नेतृत्व गृहमन्त्रीको धम्की वा आतंकपूर्ण ब्यवहारबाट किमार्थ डराउनेवाला छैन”, विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस