२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिका र युरोपमा अत्यधिक गर्मी, दक्षिण कोरिया डुवान : ५३ डिग्रीसम्म पुग्ने

काठमाडौं । अमेरिका र युरोपमा अत्यधिक गर्मी बढेको छ । अमेरिका पछिल्लो १६ दिनयता गर्मीबाट प्रभावित छ । पूरै दक्षिण(पश्चिम अमेरिकाका बासिन्दा गर्मीसँगै तातो हावाबाट प्रभावित भएका छन् ।

गर्मीबाट अमेरिकामा करिब ११ करोड बासिन्दा प्रभावित भएको बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वाशिङ्टन डिसीमा समेत तातो हावा (लु) बाट प्रभावित भएको बीबीसीले जनाएको छ । अमेरिकाका मौसमविदहरुले तत्काल गर्मी नघट्ने भन्दै सावधानीका उपाय अपनाइराख्न आग्रह गरेका छन् । आगामी एक हप्तासम्म गर्मी कायम रहने पूर्वानुमान गरिएको छ ।

बीबीसीका अनुसार विश्वको सबैभन्दा गर्मी स्थानमध्येको एक क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । लासभेगास, नाभादा लगायतका स्थानको अधिकतम तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । गर्मीबाट जोगिन मानिसहरुले घरमा एसीको अत्यधिक प्रयोग गरेकाले अमेरिकाको टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान कायम भएको बीबीसीले जनाएको छ । अमेरिकाको छिमेकी देश क्यानडाका अधिकारीहरुका अनुसार अत्यधिक गर्मीका जंगलमा डढेलो लागिरहेको छ । आगोबाट २.५ करोड एकड जंगल क्षेत्र जलिसकेको छ । डढेलोको धुवाँले अमेरिकाको केही भाग ढाकेको छ ।

युरोपमा पनि उष्णलहर

गर्मी छल्न जर्मनीको बर्लिनमा एक नदी किनारमा बसिरहेका मानिसहरु ।
हाल अमेरिका, चीन, उत्तर अफ्रिका र जापानमा उष्णलहर देखापरेको छ । यीसँगै युरोपेली देशहरु इटली, स्पेन,ग्रिस, जर्मनी, पोल्याण्ड लगायत पनि केही दिनदेखि उच्च गर्मीका कारण प्रभावित छन् । उपग्रहमार्फत् जमिन र समुद्रको तापक्रमको रेकर्ड राख्दै आएको युरोपेली अन्तरीक्ष एजेन्सी ९ईएसए०का अनुसार गर्मी अझै केही दिन कायम रहने छ ।

युरोपमा देखिएको उष्णलहरलाई इटलीको मेट्रोलोजिकल सोसाइटीले ‘सर्बरस’ नाम दिएको छ । उष्णलहरबाट इटलीका पर्यटकीय शहरहरु रोम, फ्लोरेन्स, बोलोन्या लगायत १६ शहरमा उच्च सतर्कता अपनाउन भनिएको छ । दिउँसोको समयमा घर बाहिर ननिस्किन भनिएको छ ।

इटली सरकारले गर्मीका कारण स्वस्थ मानिस पनि बिरामी पर्नसक्ने भन्दै कफी र मदिरा नपिउन आग्रह गरेको छ । कफी र मदिराले शरीरमा पानीको मात्रा घटाउन सक्ने भन्दै त्यसको सट्टा दैनिक दुई लिटर पानी पिउन भनिएको छ । ग्रिसमा केही दिनयता तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मी अत्यधिक भएपछि ग्रिसको लोकप्रिय पर्यटकीय केन्द्र एक्रोपोलिस गत शुक्रबार बन्द गरिएको थियो । चेक रिपब्लिकको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने चेतावनी जारी गरिएको छ । चेक रिपब्लिकमा यति धेरै तापक्रम असामान्य मानिएको छ । तर युकेमा भने आँधीसहित ठूलो वर्षा हुने पूर्वानुमान मौसमविदहरुले गरेका छन् ।

दक्षिण कोरियाको उत्तरी चुङचेङ प्रान्तमा भएको डुबान ।
दक्षिण कोरियामा भने केही दिनयता अत्यधिक वर्षा भएको छ । वर्षासँगैको बाढी र पहिरोमा परी दक्षिण कोरियामा करिब दुई दर्जन मानिसहरुको ज्यान गएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाको मौसम पूर्वानुमान कार्यालयले आगामी सातासम्मै वर्षा हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस