२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पहाडी क्षेत्रमा पहिरोले यातायात बन्द

कावासोती (नवलपरासी) । शुक्रबार साँझदेखि परेको वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ। नवलपरासी जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिका हुँदै पाल्पा रामपुर, स्याङ्जासम्म चल्ने दुईवटै सडक अवरुद्ध भएपछि सदरमुकामसँगको यातायात सम्बन्ध विच्छेद भएको बुलिङटार गाउँपालिकाका लोकप्रसाद रामदामले बताउनुभयो।

पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुन पुगेपछि त्यस क्षेत्रमा खाद्यान्न, औषधिलगायतका अत्यावश्क सामग्रीको अभाव हुने बुलिङटार–२ का प्रेमबहादुर थापा मगरले जानकारी दिनुभयो । गैँडाकोट हुँदै कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ, नरम, जौबारी, धौबादी हुँदै पाल्पा स्याङ्जासम्म चल्ने दुई वटा सडक पहिरोले अवरुद्ध बनाएपछि बाटो सुचारु हुन समय लाग्ने बुलिङटार गाउँपालिकाका कुलबहादुर कुमालले बताउनुभयो। दलदले धौबादी सडकखण्डको विस्तार गर्ने जिम्मेवारी पाएको ठेकेदार कम्पनी बेखबर भएपछि विगत तीन महिनादेखि सो बाटो मर्मत हुन नसकेको र पटक पटक मर्मतका लागि अनुरोध गरे पनि सो कम्पनीले बेवास्ता गरेको स्थानीयले बताए।

दलदले धौबादी सडकखण्डको कुमसोत पाङ्ग्रे खण्डमा दर्जनौँ ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको सो बाटो मर्मतका लागि समय लाग्ने र पानी नरोकिएसम्म मर्मतको काम थाल्न नसकिने देबचुलीका रामबहादुर मगरले बताउनुभयो। वर्षा याममा पहाडी क्षेत्रका जनताले सधैँ दुःख खेप्नु परिरहेको कोटथरका रविन्द्रकुमार श्रेष्ठले दुखेसो पोख्नुभयो। गैँडाकोट कालीगण्डकी मोटरबाटोमा समेत एक दर्जनभन्दा बढी ठाउँमा पहिरो जाँदा यातायात बन्द भएको छ। पहाडी क्षेत्रलाई जोड्ने दुवै सडक अवरुद्ध भएपछि त्यस भेगमा खाद्यान्न, औषधीको अभाव हुन सक्ने बौदीकाली गाउँपालिकाका पुरुषोत्तम पाण्डेले बताउनुभयो।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस