२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीको चीन भ्रमण छिट्टै

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले छिट्टै चीन भ्रमण गर्ने बताउनुभएको छ। पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भ्रमणको तयारी भइरहेको पनि जानकारी दिनुभयो।

भारतसँग थप हवाई मार्गबारे छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाँदा पनि यो विषयमा छलफल हुने बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अनुसन्धान कार्यमा सरकार दृढ रहेको, थप तीव्रता पाउने र यसमा सरकारले कुनै पनि सम्झौता नगर्ने उल्लेख गर्नुभयो। भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतमा सरकार दृढतासाथ अगाडि बढेको भन्दै त्यसलाई थप तीव्र पारिने जनाउनुभयो।

उहाँले भन्नुभयो, “जनताले भोगेका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ र यसको दूरगामी अर्थ रहेको छ।”

प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको भन्दै वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र कसैले यसलाई कमजोर बनाउन नसक्ने गरी दलहरू समझदारीका साथ अगाडि बढ्ने बताउनुभयो।

यसै गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रचण्डले शनिबार बिहान पोखरामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तर्क्रिया गर्दै पूर्वमाओवादी शक्तिहरूबिच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभयो।आफूहरूको पहलमा समाजवादी मोर्चा घोषणा गरिएको भन्दै उहाँले बैठक बसेर त्यसका कार्यक्रम तय गर्ने बताउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।” आफूहरूले राम्रो गर्न खोजेको तर सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको भन्दै उहाँले त्यसलाई सफा नगरी देश नबन्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “देश निर्माणका लागि फेरि नयाँ फड्को मार्न जरुरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को मार्न खोजिएको छ।”

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस