२०८१ कार्तिक १० गते शनिवार | 2024 October 26th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खाण पक्षले थप समय माग्दा प्रतिरक्षा बहस लम्बियो, अदालत निरीह भएजस्तो भयो !

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणका वकिलहरूले थप समय माग्दा आज बुधबारसम्मका लागि प्रतिरक्षा बहस लम्बिएको छ। यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत चलिरहेको थुनछेक बहसमा प्रतिरक्षा बहसका लागि जिल्ला अदालत काठमाडौंले मंगलबारसम्मको समय तोकेको थियो।

अघिल्लो बुधबारदेखि सुरु भएको प्रतिरक्षा बहसका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ६ दिनको समय छुट्ट्याउँदै प्रतिवादी पक्षका वकिलहरूलाई मंगलबारसम्म आफ्नो बहस सकाउन निर्देशन दिनुभएको थियो । तर मंगलबार पूर्वगृहमन्त्री खाण पक्षका वकिलहरूले आफ्नो बहस नसकिएपछि थप एक दिन समय मागे ।

खाणको पक्षबाट प्रतिरक्षा बहस गरिरहेका पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल बार एसोसिएसनका अध्यक्षगोपालकृष्ण घिमिरेले थप समय माग गर्नुभयो । उहाँहरूले इजलासमै थप समय मागेपछि न्यायाधीश न्यौपानेले मन मारीमारी बुधबारसम्मको समय दिएको देखियो ।

‘अदालत निरीह भएजस्तो भयो’

पूर्वगृहमन्त्री खाणको पक्षबाट प्रतिरक्षा बहसका लागि वकिलहरूले थप समय मागेपछि इजलासमै केहीबेर न्यायाधीश र वकिलहरूका बीचमा रोचक सबाल–जवाफ भएको थियो। मंगलबार बहसकै क्रममा पहिला पूर्वन्यायाधिवक्ता खाती र त्यसपछि बारका अध्यक्ष घिमिरेले समय माग गर्नुभयो । यसैक्रममा घिमिरेले भन्नुभयो, ‘मैले पनि नसक्ने भएँ यसरी त कामै गर्न नसकिने भयो। श्रीमान समय थप चाहिने भयो।’

घिमिरेले उक्त कुरा राखेपछि खातीले समय व्यवस्थापनका साथ बहस अगाडि बढाउनुपर्ने गरी रुलिङ गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुरा दोहोरिएमा श्रीमानले रुलिङ गर्नुपर्‍यो। नयाँ तथ्य आएन रोक्नुपर्‍यो। यसरी हुँदैन, सकिँदैन श्रीमान्। थप समय व्यवस्थापन गर्नुपर्ने भयो।’

त्यसपछि न्यायाधीश न्यौपानेले पुराना कुरा नै दोहोरिरहेको र नयाँ कुरा नआएको भन्दै असन्तुष्टि पोख्नुभयो । ‘आज पनि रमन श्रेष्ठले भनेको कुरा आएकै छ, दोहोरिएकै छ’, उहाँले भन्नुभयो । त्यसपछि घिमिरे र खातीले बुधबार ‘ब्रेक’ अघिको समय आफूहरूले पाउनुपर्ने प्रस्ताव अघि सार्नुभयो ।

त्यसपछि न्यायाधीश न्यौपानेको मुहारमा असन्तुष्टि देखिएको थियो। ‘अब त मैले हात उठाउनुपर्ने अवस्था आइसक्यो’, उहाँले भन्नुभयो, ‘तपाईंहरूअगाडि अदालत नै निरीहजस्तो भयो।’ घिमिरे र खातीले त्यसपछि पनि कर गरिरहेपछि न्यायाधीश न्यौपानेले बुधबार आधा दिनसम्मका लागि समय दिने घोषणा गर्नुभयो । न्यायाधीशले नै बेन्चमा नै अदालत निरीहजस्तो भयो भन्दा के बाध्यता परिरहेको छ भनेर नजिकै रहेका अरु कानून व्यवसायीहरुले एक अर्कामा कानेखुशी गरेका थिए ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस