२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आह्वान गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले प्रेस विज्ञप्ति निकाल्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नुभएको हो ।

नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई आह्वान गरिएकाे हाे ।

नामकरणका विषय कुनै दल वा सरकारको भन्दा पनि सदस्यको आफ्नो प्रदेशको नामकरण आफैँ गर्न पाउने अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९५ (२) अनुसार कोशी नामकरण रहन गएकाे विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मन्त्री सिटौलाले नागरिक चाहना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै गत २०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेशसभाको निर्वाचनको जनादेशको आधारमा तत्कालीन प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दल, दलका नेता तथा प्रदेशसभा सदस्यको अथक प्रयासबाट प्रदेशसभाका ९० प्रतिशत सदस्यको समर्थनमा प्रदेशको नामकरण भएको बताउनुभएको छ ।

यसअघि सोमवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस