७ पुस, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएपनि निकिताको हकमा लागेको आरोप बारे केही बताइनन् ।
निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् । त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्डसजाय हुँदैन ।
त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो । सहायक न्यायाधीवक्ता शर्माका अनुसार, आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको उनले बताइन् ।
सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।