५ पौष, काठमाडौँ । नेपालको यु–१९ महिला टोली एसिया कपबाट बाहिरिएको छ । सुपर फोरको प्रतिस्पर्धामा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको हो । नेपाललाई पराजित गरेको बंगलादेशले भने फाइनल खेल्ने छ । बंगलादेशले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो । टस हारी ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनमात्र बनायो । नेपाली टोलीका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर सावित्री धामीले मात्र दोहोरो अंकमा रन बनाइन् । उनले ११ रन जोडिन् ।
अर्की ओपनर साना प्रविन चार रन बनाउँदै आउट भइन् भने कप्तान पूजा महतो पनि ९ रनमा पभेलियन फर्किइन् । त्यसैगरी सोनी पाख्रिन दुई रनमा आउट भइन् । ज्योत्सनिका मरासिनीले पाँच र सिमाना केसीले तीन रन बनाउँदा एलिसा यादवले ८ रनको पारि खेलिन् ।
कुशुम गोदारले ३ रन जोड्दा तृषना विश्वकर्मा ४ रनमा नटआउट रहिन् । जवाफमा बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर ५८ रन बनाउँदै विजय लक्ष्य पूरा गरेको थियो । बंगलादेशको जितमा फाहोमिदा चोयाले अविजित २६ रनको योगदान गरिन् । मोसाम्मत एभाले १८ रन बनाइन् । सुमैया अख्तर १० रनमा नटआउट रहिन् ।