५ पौष , काठमाण्डौँ । माछा मार्न बिष्फोटक पदार्थ बनाउने क्रममा पड्किँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिनाउ गाउँपालिका–२ का २८ वर्षीय सुरज सोमै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
तिनाउ गाउँपालिका–२ बुढाचटकमा माछा मार्न सलाइको काँटीबाट बनाएको बिष्फोटक पदार्थ अचानक पड्कँदा सोमैसहित तीन जना घाइते भएका थिए । घाइते हुनेमा तिनाउ गाउँपालिका–२ का सुरज सोमै, तिलोत्तमा नगरपालिका–४ का २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल थिए ।
घाइते तीनै जनालाई बुटवल हस्पिटल प्रालि पठाइएकामा सोमैको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । उपचारका क्रममा रहेका कोसिसको अवस्था चिन्ताजनक रहेको कुशलको अवस्था भने सामान्य रहेको मल्लले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।