५ पौष, काठमाडौँ । सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । पहिल्यै मुद्दा दर्ता भइसकेका १९ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत कास्कीमा अर्को अभियोगमा मुद्दा दायर गर्न लागेको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
‘१९ जनाको हकमा अर्को अभियोग दर्ता हुँदैछ,’ काफ्लेले सुनाइन्, ‘कुन अभियोग भन्ने कुरा दर्तापछि थाहा हुन्छ ।’ पूरक जाहेरी लिएपछि पक्राउ परेका र हाल थुनामा रहेका गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाको हकमा भने आइतबार मात्रै अभियोग दर्ता हुने उनले जानकारी दिइन् ।
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल प्रतिवेदनअनुसार ५१ जनाविरुद्ध कैद सजायसँगै १ अर्ब ५५ करोड बिगो माग दाबी गरिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले बचतकर्ताको उजुरीपछि अनुसन्धान गरेर तयार गरेको प्रतिवेदन १६ असोजमा सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।