२०८१ पुष ३ गते बुधवार | 2024 December 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङमा दुई दिनमा ३ पटक भूकम्प

३ पुस, काठमाडौं। बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । हिजो साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

हिजो नै १ बजेर २ मिनेटमा बझाङकै रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त मानिन्छ । पश्चिम नेपालको भूगर्भमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले अझै बढी जोखिम रहेको ठानिन्छ ।

कुनै पनि बेला ठूला धक्का जान सक्ने हुँदा क्षतिबाट जोगिन भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने र उद्धारको तयारीमा जोड दिनुपर्ने विज्ञहरु बताउँछन् । यद्यपि पटक-पटक गइरहने साना धक्कालाई सकारात्मक रुपमा लिनुपर्ने उनीहरुको मत छ । यसबाट लामो समय भूगर्भमा सन्चित भएको ऊर्जा बाहिरिने मद्दत मिल्छ ।

नेपालमा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १५० जनाभन्दा बढीको ज्यान गएको थियो । यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७.६ म्याग्निच्युडको भूकम्प जाँदा ८ हजार ९७० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस