सुनसरी । बालबालिकालाई राम्रो शिक्षा दिन घरबाटै सुरुवात गरिनुपर्ने संघीय सांसद भगबती चौधरीले बताउनु भएको छ । बालबालिकाको पहिलो गुरु आमाबुबा भएकोले आफ्ना छोराछोरीको भविष्य राम्रो बनाउन घरमा पनि राम्रो संस्कार दिनुपर्ने बताउनु भएको हो ।
सुनसरीको बर्जु गाउँपालिका वडा नं. ५ स्थित कोशी आधारभूत विद्यालयमा २ कोठे पक्की भवनको शिलान्यास गर्दै संघीय सांसद चौधरीले आफ्ना छोराछोरीहरुले कस्तो शिक्षा पाइरहेका छन् ? विद्यालयमा उनीहरुको शैक्षिक अवस्था कस्तो छ ? साथीसंगीहरु कस्ता छन् ? उनीहरुको बानी ब्यहोरा कस्तो छ भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्ने बताउनु भयो । ‘विद्यालय पठाएपछि बालबालिकाले पढि हाल्छन् भनेर ढुक्क हुनुहुँदैन, उसले कसरी पढेको छ, कस्तो संगत गर्छ, कस्तो खानपान गर्छ ? बुझ्नु पर्छ ।’ उहाँले भन्नुभयो ।
पूर्वमन्त्री समेत रहनु भएको सांसद चौधरीले बालबालिकाको सिकाईको लागि विद्यालयले पनि पठनपाठनको शैली सुधार्नु पर्ने बताउनु भयो । बालबालिकाको सिकाई प्रभावकारी बनाउन प्रयोगात्मक शिक्षण विधि अपनाउनु पर्ने बताउँदै विद्यालयहरु पनि प्रविधि र शिक्षणमैत्री हुनुपर्ने भन्दै सांसद चौधरीले सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न सबैले भूमिका खेल्नुपर्ने पनि बताउनु भयो । ‘विद्यालयको भवन मात्र राम्रो भएर हुँदैन, शिक्षक शिक्षिकाहरु पनि बालबालिकाको मनोविज्ञान बुझ्ने, विद्यार्थीमैत्री हुनुपर्छ । सिकाईका श्रोत साधनहरु हुनुपर्छ । शिक्षक शिक्षिकाहरू तालिम प्राप्त, बालमनाेविज्ञान बुझ्ने हुनुपर्छ ’ पछिल्लो समय माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहमा आएकोले अब स्थानीय तहले शैक्षिक गुणस्तर कायम गर्न ठोस योजनाहरु बनाउनु पर्ने भन्दै उहाँले भन्नुभयो ।
सांसद चौधरीले विद्यालय शिक्षा विधेयक २०८० संघीय संसदमा दर्ता भई त्यसलाई संसोधन गर्न धेरै सांसदहरुले संसोधन प्रस्ताव समेत दर्ता गराई सकेको अवस्थामा सबैभन्दा पेचिलो बनेको शिक्षकहरुका सवालमा पनि संसोधनहरु दर्ता भएको बताउनु भयो । लामो समयदेखि प्राध्यापन पेशामा जीवन समर्पण गरेका शिक्षकहरुको विषयमा राज्य जिम्मेवार हुुने भन्दै सांसद चौधरीले विधेयकमा के के विषयहरु संसोधन गर्नुपर्ने हो ? के विषय थप्नुपर्ने हो सुझाबहरु दिन पनि भन्नुभयो । ‘मैले पनि शिक्षा विधेयकमा संसोधन प्रस्ताव दर्ता गराएको छु । शिक्षकहरुको समस्याका सन्दर्भमा के गर्नुपर्छ मलाई सल्लाह दिनुहोला । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा यहाँहरुका विषयहरुलाई उठाउन म लाग्नेछु ।’ सांसद चौधरीले भन्नुभयो ।
श्री साथी नेपाल र चाइल्ड रेस्क्यू नेपालको सहयोगमा बन्न लागेको २ कोठे पक्की भवन बालमैत्री र अपाङमैत्री हुने श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले बताउनु भयो । विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र भौतिक पूर्वाधार सुधारका लागि आफुहरु आएको बताउँदै सुनसरी क्षेत्र नं. ३ का बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सबैले योगदान पुर्याउनु पर्ने बताउनु भयो । आफुहरुले ल्याएको कार्यक्रममा बर्जु गाउँपालिकाले समेत सहकार्य गर्दै अपाङ्ग मैत्री, बालमैत्री शौचालय निर्माणमा साथ दिएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिकाका प्र्रमुख जिवछ कुमार राय, बर्जु वडा नं. ५ का वडाध्यक्ष अजय कुमार चौधरी लगायतले भवन निर्माण र विद्यालयको शैक्षिक अवस्था सुधारका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।