१९ मंसिर, काठमाडौँ । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन मंगलबार १७.८० अंकले बढेको नेप्से आज २४।९७ अंकले घटेर २७५०.८७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.१८ अंकले घटेर ४६९.०३ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन ३२० स्क्रिप्सको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँमा खरिदबिक्री भए ।
मंगलबार ८ अर्ब ५२ मूल्य बराबरको सेयर कारोबार भएको थियो । दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
जोशी हाइड्रोपावर डेभलपमेन्टको सेयर ९.९८,रिभर फल्स पावरको ९.९०,इन्हवा हाइड्रोपावरको ९.७२ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर ९.४१ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो । सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २९ करोड,आँखु खोला जलविद्युतको २६ करोड,सानिमा माइ हाइड्रोपावरको १८ करोड र रसुवागढी हााइड्रोपावरको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। तीन समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।
हाइड्रोपावर,मनु एण्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक सकारात्मक देखिएका हुन् । यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ८.७२ प्रतिशतले घटयो । कारोबारमा आएका स्टक्समध्ये १०४ वटाको मूल्य बढ्दा १३२ वटाको घट्यो। बाँकी ८ स्टक्सको मूल्य स्थिर रह्यो ।