१९ मंसिर, चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सहकारीको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको पक्षमा नाराबाजी गर्दै कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको हो ।
राजनीतिक प्रतिशोधविरुद्ध खबरदारी भन्दै भेला भएर चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् ।अहिले सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहेको छ ।