काठमाडौं । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्न/नगराउन आदेश जारी गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्रीवितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न/नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ ।
जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मङ्सिर २२ गते सम्पन्न हुनेछ ।