२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ का गाउँबस्तीसम्म पुग्ने सडक पूर्वाधार अवस्था कमजोर छ । ग्रामिण सडक पुगेपनि गाउँगाउँसम्म सवारी साधन पुग्न भने अझै सकेका छैनन् । यहाँका स्थानीयहरु विरामी हुँदा समेत तत्काल एम्बुलेन्स सेवा पाउँदैनन् । यसले विशेषगरी सुत्केरी महिलाहरुलाई प्रत्यक्ष असर पर्दै आएको छ ।

वीरेन्द्रनगर १६ मा ९ वटा टोलहरु छन् । अधिकाँस टोलहरुमा विरामीलाई हस्पिटलसम्म लैजान स्टेचरकै भर पर्नुपर्ने अवस्था छ । पर्याप्त स्टेचर नहुँदा कतिपय विरामीहरुलाई अस्पतालसम्म लैजान पनि समस्या हुँदै आएको छ । यहि समस्यालाई समाधान गर्न का लागि स्थानीय युवा धर्म राज लामिछानेकाे अग्रसरता मा यतिबेला युवाहरुले सहयोग उठाएर टोलटोलमा स्टेचर प्रदान गरेका छन् ।

सोमबार वडाका नौ ओटा टोल र स्वास्थ्यचौकीमा गरी १० ओटा स्टेचर प्रदान गरिएको छ । स्टेचर सहयोग गर्नेमा वीरेन्द्रनगर १६ का याम बहादुर रास्कोटी, देवीलाल खराल, धर्मराज लामिछाने, टिकाराम राना, वीरेन्द्रनगर १० का प्रकाश कुमार शाही, वीरेन्द्रनगर ४ का विशाल हमाल, वीरेन्द्रनगर १० का मिलन भण्डारी, वीरेन्द्रनगर ११ का योगेश नारायाण चपाईँ, सनम शर्मा र हुम्लाको सर्केगाड २ का धन बहादुर कार्की रहेका छन् ।

स्थानीय युवाहरुको पहलमा विभिन्न युवाहरुको सहयोगमा भएको स्टेचर वितरणले गाउँमा विरामी हुँदा स्वास्थ्यचौकीसम्म लैजान सहयोग पुग्ने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशको राजधानीमा पर्ने वडा भएपनि यो वडा अझै विकासका दृष्टिकोणले पछाडी परेको छ । सुत्केरी र विरामीलाई डोकोमा बोक्नपर्ने अवस्थाको अन्त्य गर्न स्टेचर वितरण गरिएको र यसमा स्थानीय सरकारको पनि ध्यानाकर्षण होस भन्ने अपेक्षा गरेको सहयोगी युवाहरुले बताएका छन् ।

टोलटोलमा स्टेचर वितरण भएसँगै स्थानीय नागरिकहरुले समेत खुसी व्यक्त गरेका छन् । विरामीलाई हस्पिटलमा समयमै लिन नसक्दा धेरैको ज्यान जाने गरेको सम्झदै स्टेचरले स्वस्थ्यचौकीसम्म लैजान मदत पुग्ने स्थानीयले बताएका छन् । साथै युवाहरुलाई आगामी दिनमा गाउँघरसम्म एम्बुलेन्स सेवासम्म ल्याउनका लागी पहल गर्न समेत अनुरोध गरेका छन् ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रनिधि, टोल विकासका अगुवाहरु, महिला स्वंयमसेविका लगायतका स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस