२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पुर्व मन्त्री चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’ द्वारा सम्मान

काठमाडौँ, मङ्सिर १९ गते । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित हुनुभएको छ ।

बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहनुभएकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ । सांसद चौधरीलाई मङ्सिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्ममानीत गरिएको हो ।

सम्मानित भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफूले समाज रूपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताउनुभयो । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवर्द्धनमा आफू सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सम्मानित हुन पाउँदा गौरवान्तिक भएको बताउनुभयो ।

२०७२ सालको संविधानले सबै खाले विभेदहरूको अन्त्य गरेको भए पनि समाजमा विभेदहरू रहेको जनाउँदै गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकिर गर्नुभयो । “नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भए पनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरू छन् । परम्परागत, सांस्कृतिक विभेदहरू छन् । महिलाहरू आर्थिक क्षेत्रमा पछाडि परेका छन् । ती सबै विभेदहरूको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ,” मन्त्री चौधरीले भन्नुभयो । उहाँले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरूमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तीकरणमा लागि रहने बताउनुभयो ।

महिला आर्थिक सशक्तीकरणकी अभियन्ता समेत रहनु भएकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रूपमा रहेर संविधान लेखनमा समेत योगदान पुर्‍याउनु भएको छ । ३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तीकरण, समाजसेवा गर्दै आइरहनुभएकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत गाउँगाउँमा रहेका महिलाहरूलाई सामाजिक, सांस्कृतिक विभेदहरू विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तीकरणमा जोड्नु भएको छ ।

उहाँले गरिब, विपन्न र पछाडि परेका महिलाहरूको आर्थिक उन्नतिका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमूलक तालिम लगायतमा काम गर्दै आइरहनुभएको छ । हाल प्रतिनिधि सभा सदस्यका रूपमा संसदमा नेतृ चौधरीले सामाजिक, आर्थिक, वर्गीय विभेद र समतामूलक कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनुभएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस