काठमाडौं । व्यक्ति हत्यामा जेलमा बसेर निस्केका व्यक्तिको योजनामा एक अहेबलाई ‘हनी ट्रयाप’ मा पारेको खुलेको छ ।
हनी ट्रयापको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्दा कर्तव्य ज्यानको कसुरमा दोषी ठहर भई जेल बसेर निस्केका व्यक्तिको योजनामा हनी ट्रयाप भएको खुलेको छ ।
अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काको टोलीले हनी ट्रयाप आरोपमा १२ मंसिरमा भक्तपुरबाट दुई युवतीसहित तीन जनालाई पक्राउ गरेको थियो । त्यतिबेला इलामको माई नगरपालिका-१ का २५ वर्षीय समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका-४ कोशीपारीकी २५ वर्षीया वर्षा दर्जी र सोही ठाउँका ३० वर्षीय दीपेन्द्र दर्जीलाई पक्राउ गरेको थियो ।
उनीहरूमध्ये पक्राउ परेका दीपेन्द्र दर्जी व्यक्ति हत्यामा जेल बसेर छुटेको व्यक्ति रहेको डीएसपी खड्काले जानकारी दिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको थियो । व्यक्ति हत्याको कसुरमा २०७१ सालमा पक्राउ गरी उनी जेल चलान भएका थिए । जेलबाट छुटेका दर्जी र हाल फरार रहेका एक जनाको योजनामा हनी ट्रयापको घटना भएको डीएसपी खड्काले बताए ।