काठमाडौं । टिकटकले ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।
आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरका किशोर–किशोरीले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन् ।
मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सौन्दर्य फिल्टरमा कडा प्रतिबन्धको घोषणा गरेको हो । अब १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले अनुहारको छाला चम्काउने , आँखा राम्रो देखाउने, ओठ चम्किलो बनाउने वा रङ्ग परिवर्तन गर्ने जस्ता सौन्दर्य फिल्टरहरू प्रयोग गर्न पाउने छैनन् । तर, हास्यात्मक प्रभाव दिने फिल्टर जस्तै खरायोका कान वा कुकुरको नाक, जिब्रो थप्ने फिल्टरहरू भने प्रयोग गर्न पाउने छन् ।
प्रतिबन्ध वास्तविक उमेर राख्नेहरूको हकमा लागु हुने जनाइएको छ । तर, धेरैले आफ्नो नक्कली उमेर राख्ने हुँदा सबैमा लागु हुन नसक्ने ठानिएको छ ।
टिकटक एवं अन्य सामाजिक सञ्जालमा उपलब्ध राम्रो देखाउने फिल्टरहरूले खासगरी केटीहरूलाई आफ्नो शारीरिक बनावटलाई लिएर नकारात्मक भावना उत्पन्न गराइरहेको भन्दै विश्वभर चिन्ता बढ्दो छ ।