काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ मोटरसाइकल र नौ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नँयाबसपार्क, सोह्रखुट्टे, मालिगाँउ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट फेला पारेको थियो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चर्तुवेदीले हराएका सवारी साधन नम्बरप्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए । ट्राफिक प्रहरीले हालसम्म २१० दुईपाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ ।