काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको शल्यक्रियासहितको निःशूल्क उपचार गराएको छ ।
पाठेघरको समस्या भएका गाउँपालिका भरिका ३२ जना महिलाको निःशूल्क उपचार गराएको गाउँपालिकाले जनाएको छ । ३२ जनामध्ये १९ जनाको शल्यक्रियामार्फत उपचार गरिएको गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो ।
गाउँपालिकाले खटाएको स्वास्थ्यकर्मीले वडा,वडामा पुगेर पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको पहिचान गरेको थिए ।
पहिचान भएका महिलाहरुको सामुदायिक सेवा प्रतिष्ठान नेपालको आर्थिक सहयोगमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल लगेर उपचार गरिएको हो । अस्पताल लगिएका ३२ जना महिलामध्ये १९ जनाको शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया गरिएका महिलाका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुसँगै गाउँपालिकाबाट पठाइएका चार जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगारानी र हेरचाहमा उपचार भइरहेको पालिका अध्यक्ष राईले बताउनुभयो ।