काठमाडौं । जापान जाने क्रममा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफैं पीडित भएको बयान दिएका छन् ।
प्रदेश र संघीय सरकारको अनुमतिबिना नै गत कात्तिक १३ गते जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीन युवकलाई लगेको आरोपमा पक्राउ परेका अधिकारीले उक्त आरोपबाट सोमबार उन्मुक्ति पाइसकेका छन् ।
उनले त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा दिएको बयानका क्रममा उक्त प्रकरणमा आफैं पीडित भएको उल्लेख गरेका छन् । मानव तस्करीको अनुसन्धान गरेका प्रहरी अधिकारी र सरकारी वकिलहरूसँगको बयानका क्रममा अधिकारीले उक्त घटनामा आफू पीडित भएको जिकिर गरेका हुन् ।
मानव तस्करी तथा सरकारी कागजात र छाप किर्तेबारे आफूले त्यतिबेलै प्रहरीलाई सूचना दिएर साक्षी बनेको दाबी उनले गरेका छन् ।