काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इ-मेलमार्फत पठाएको छ ।
आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।
आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो । एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ ।