काठमाडौं । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर- १ मुड्लीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।
विषयगत शिक्षक नहुँदा पठनपाठन नै प्रभावित भएको भन्दै विद्यार्थीहरूले बिहीबार विद्यालयमा तालान्दी गर्दै आन्दोलन सुरु गरेका हुन् ।
बिहीबार बिहान नाराबाजीसहितको प्रदर्शन गर्दै विद्यार्थीहरूले विद्यालयको मूल प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् । विद्यालयको कक्षा ९,१०,११ र १२ मा अध्ययनरत विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूका अनुसार,नयाँ शैक्षिक सत्र सुरु भएको ७ महिना बितिसक्दा पनि विद्यालयमा विज्ञान,सामाजिक,अर्थशास्त्र र अंग्रेजी विषयको विषयगत शिक्षक छैनन् । जसका कारण पठनपाठन नै प्रभावित भएको उनीहरूको गुनासो छ ।
विषयगत शिक्षकको व्यवस्था गर्न विद्यालय प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत कुनै चासो नलिएपछि बाध्य भएर आफूहरू आन्दोलनमा उत्रिनु परेको कक्षा–१० का छात्र अमित गुप्ताले बताए ।